समाज

ताप्लेजुङको मैवाखोलामा लम्पी स्किनबाट संक्रमितमध्ये ७ प्रतिशत पशु मरे

फाइल तस्बिर

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा लम्पी स्किन रोगबाट संक्रमितमध्ये ७ प्रतिशत पशुको मृत्यु भएको पाइएको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार यो रोगबाट पालिकाभरीमा ४ सय ७३ वटा पशु संक्रमित भएकोमा ३३ वटा मरेका छन्।

गाउँपालिकाले ३ सय ८७ वटा पशुको उपचार गरेको छ भने ३ हजार १ सय १५ वटा पशुमा लम्पी स्किन बिरुद्धको खोप लगाएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार सबैभन्दा बढी पशु वडा नं ६ र वडा नं ३ मा मरेका छन्। वडा नं ६ मा १३ वटा र वडा नं ३ मा ११ वटा पशुको मृत्यु भएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले गाई, भैंसी,याक र चौंरीमा लम्पी स्किन बिरुद्धको खोप लगाएको जनाएको छ।

यसैबीच फुुङलिङ नगरपालिकाले पालिकाका ११ वटै वडामा लम्पी स्किन रोग लागेका पशुहरुको उपचार तथा लम्पी स्किन बिरुद्धको खोप लगाउन बाँकी पशुहरुका लागि खोप अभियान तीव्र बनाएको छ। ताप्लेजुङका सबै स्थानीय तहले लम्पी स्किन बिरुद्धको खोप लगाउने तथा रोग लागेका पशुहरुको उपचार गर्ने कार्यलाई अभियानकै रुपमा अघि बढाएका छन्।  

प्रकाशित: १० श्रावण २०८० ०६:४३ बुधबार