चितवन- नारायणगढ मुग्लिन सडकको कालिखोलामा गएको पहिरोमा पुरिएरको अवस्थामा दुई जना प्रहरीको शव भेटिएको छ। डिएसपी दीपक श्रेष्ठका अनुसार प्रहरी सहायक निरीक्षक निश्चल तामाङ र प्रहरी जवान दीपक कुमार मास्केको शव भेटिएको हो। बाँकीको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर इलाका प्रहरी कार्यालय मुग्लिनको एउटा पिकअप भ्यान र मालबाहक ट्रक हराइरहेका छन्। ठाउँ ठाउँमा पहिरो गएका कारण आज सो सडक खण्ड दिनभर प्रभावित हुने सम्भावना छ। नारायणगढ मुग्लिन सडकलाई दुई लेनको बनाउन विस्तारको काम भइरहेको छ। फराकिलो बनाउन पहाड काटेको ठाउँमा पहिरोको समस्या आइरहन्छ ।
प्रहरी भ्यानमा प्रहरी सहायक निरीक्षक निश्चल तमाङको नेतृत्वमा थप तीनजना प्रहरी रहेको जिल्ला प्रहरी कार्यालयको प्रहरी कन्ट्रोल कक्षले जानकारी दिएको छ।
चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार गएराति नौ बजे चार किलोमा पहिरो गएको थियो। सो ठाउँको पहिरो सफा गरेर यातायात खुलाएपछि राति एक बजे कार्यालय तर्फ फर्कदै गरेको इलाका प्रहरी कार्यालय मुग्लिनको पिकअप भ्यान इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा पहिरोमा पुरिएको हो। प्रहरीको भ्यानको पछाडि रहेको एउटा मालबाहक ट्रक पनि सोही बेला पुरिएको प्रहरीको भानइ छ।
पहिरोले रातिदेखि नै गाडीहरु रोकिएका छन्। राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पुर्वी र पश्चिम भागसँग जोड्ने मुख्य मार्गको रुपमा रहेको नारायणगढ मुग्लिन सडकमा दिनमा १० हजारसम्म गाडीहरु ओहर दोहर गर्छन्। यातायात बन्द हुँदा हज्जारौलाई मर्का पर्छ। घटना स्थलमा चितवनका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेर उद्धार र सुरक्षाको प्रवन्ध मिलाएको प्रहरीको भनाइ छ।
प्रकाशित: ९ असार २०७४ ०२:३८ शुक्रबार