समाज

चट्याङले जुम्लामा तीन आव भित्र ४ सय बढी भेडा मरे

चट्याङले पाटनमा मरेका भेडाहरू। तस्बिरः गोल्डेन बुढा जुम्ला ।

गएको असार २८ गते जुम्लाको पातारासी गाउँपालिका (२ दुगाड पाटनमा चट्याङमा परि ६ जना किसानका ५० वटा भेडा मरे, भने ७० वटा भेडा बेपत्ता भएका थिए।

दिउँसोको समयमा भेडा चर्दै गरेको अवस्थामा पाटनमा एकासी चट्याङ परेको थियो,सबैभन्दा बढी पातारासी गाउँपालिका–२ पेरे गाउँका दीपबहादुर ऐडीका १५ वटा भेडा चट्याङले मरे ,दीपबहादुरको मन पिरोलिएको छ। भेडापालनबाटै उनको परिवारको वर्षभरिको घरखर्चको जोहो चल्थ्यो। यस्तै निम बहादुर बोहोराका १४, जयबहादुर ऐडीका ५, पृथ्वी बहादुर बोहोराका ७, कृष्ण ऐडीका ३ र हिरा बहादुर बुढाका ६ भेडा मरेका हुन्।  

अहिले पशु सेवा कार्यालय जुम्लाको स्थानीय भेडाको न्युनतम प्रति भेडाको सदर मुल्य १५ हजार पर्छ। जसअनुसार न्युनतम ७ लाख ५० हजार बराबरको क्षति भएको छ।  

'भेडा मरेपछि हाम्रो त गाँस, बास र कपास नै खोसियो। भेडापालन बाहेक आयस्रोतको अन्य विकल्प छैन।' पीडित किसानहरूले भने। 

पातारासी गाउँपालिका भेडापालनका लागि पकेट क्षेत्र मानिन्छ।  तर, बर्सेनि भेडाहरू चट्याङ लागेर मरेपछि किसान भेडापालन व्यवसायबाटै पलायन हुन थालेको किसान निम बहादुर बोहोराले बताए । चट्याङले भौतारीएका ७० भेडाबाख्रा अहिलेसम्म फेला नपरेको गुनासो छ। हराएका भेडाबाख्रा पनि मरेको हुन सक्ने उनको अनुमान छ। भेडा पालेरै घर चलाएका किसानको व्यवसाय नै संकटमा परेको अर्का किसान जयबहादुर ऐडी बताउँछन्। पछिल्लो ३ आर्थिक वर्षभित्र जुम्लामा ४ सय ५ वटा भेडा चट्याङले मरेका छन्।  

पातारासी गाउँपालिकाका विभिन्न पाटनमा मात्रै चट्याङकै कारण ३ सय ४६ भेडा मरेको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांकले देखाउछँ। त्यस्तै तातोपानी गाउँपालिकामा १९ वटा र गुठिचौर गाउँपालिकामा ४० वटा भेडा चट्याङले मरेका छन्। २०७९ असार १७ गते पातारासी गाउँपालिका(४ लुम गाउँको बाघजले पाटनमा चट्याङले ५ जना किसानका ८० वटा भेडा मरेका थिए। उनीहरुको न्युनतम झन्डै १२ लाख नोक्सानी भएको छ। यस्तै २०७७ भदौ ८ गते  पातारासी गाउँपालिकाका –४ मा अवस्थित कटेवका भन्ने पाटनमा चट्याङबाट २ सय १७ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ११ जना किसानको करिब ३२ लाख ५५ हजार बराबरको क्षति भएको जोशीले बताए।  

त्यस्तै २०७८ असोज ११ गते जुम्लाको गुठिचौर गाउँपालिकाको (४ मा रहेको दावा पाटनको लेकमा चट्याङ परेको थियो। जसमा ४ जना किसानका ४० भेडा मरेका थिए। त्यहाँ पनि करिब ६ लाख बराबरको क्षति भयो। भने २०७९ साउन २२ गते जुम्लाकै तातोपानी गाउँपालिका(८ को धरमशाला पाटनमा चट्याङबाट १९ भेडा मरेका थिए। ८ जना किसानका भेडा मरेका हुन्। २ लाख ८५ हजार मुल्य बराबरका भेडा मरे, तर किसानले अहिलेसम्म कुनै निकायबाट राहत नपाएको गुनासो गरेका छन्।

बिमा नगरेकै कारण किसानले बर्सेनि लाखौंको घाटा व्यहोर्नुपरेको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखा प्रमुख गगन केसीले बताए। केसीले पाटनमा चर्दै गरेका र किसानले भेडीगोठमा राखेका भेडाबाख्रा चट्याङ लागेर मर्ने गरेको बताए। उनले भने 'पानी पर्न थालेपछि कि भेडाहरू अस्थायी गोठमा जान्छन् कि त ओत लागेर एकै ठाउँमा बस्छन्। त्यही बेला चट्याङ परेपछि ठूलो क्षति हुने गरेको छ।'

पशु बिमाको चेतना किसानमा नहुनु, अनिवार्य बिमा गर्नुपर्ने नीति पालिकाले नल्याउनु र क्षतिपछि राहत तथा क्षतिपूर्तिका काम नहुनुले पनि पछिल्लो समय भेडापालन व्यवसाय संकटमा पर्न थालेको किसान जंगखत्री बताउँछन्। बजारमा भेडाको माग बढ्दो छ,तर विभिन्न रोगको प्रकोप, चरन क्षेत्रको अभाव र विभिन्न प्रकोपका कारण भेडापालन व्यावसाय घट्दो क्रममा छ।

गाउँघर तिर घाँसको अभाव हुने भएपछि अधिकांश भेडापालक किसानले वर्षायाममा भेडा चराउन पाटनतिर लैजान्छन्। भेडापालन पातारासी गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत हो। पशु सेवा कार्यालय जुम्लाको तथ्यांक अनुसार जिल्लाभरि झन्डै ६० हजार भेडा पालिएको छ। जुम्लामा सबैभन्दा बढी भेडा पातारासीमा पालिने गरिएको कार्यालय प्रमुख ज्ञानेन्द्र बुढथापाले बताए। पाटन र खर्कहरूमा व्यवस्थित भेडीगोठ नहुँदा पनि भेडा प्राकृतिक प्रकोपको जोखिममा पर्ने गरेको उनको भनाइ छ। जुम्लाको हकमा हिउँदको सिजनमा भेडाबाख्रा घरमा ल्याउने र वर्षायाममा पाटन लैजाने चलन छ।कर्णाली प्रदेश सरकारले कर्णालीका साविकका ५ जिल्लामा भेडा  गोठालो भत्ता दिदै आइरहेको छ।हिमाली जिल्लाका कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा यो कार्यक्रम संचालित छ। गोठालो भत्ता कार्यक्रमले किसानलाई भेडापालन तर्फ आकर्षित गराउन प्रोत्साहन गर्ने उदेश्य छ।५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानहरुले गोठालो भत्ता पाउदै आएका छन्।

प्रकाशित: १० श्रावण २०८० ०३:४० बुधबार