समाज

कीर्ते कागज बनाउने तीनजना पक्राउ

कीर्ते गरी बनाइएकाे जन्मदर्ता र सक्कली जन्मदर्ता

रौतहट – जिल्ला प्रहरी कार्यालय रौतहटले कीर्ते कागज बनाएको अभियोगमा तीनजनालाई पक्राउ गरेको छ । उमेर नपुगेकी बालिकालाई अदालतमा नाता प्रमाणित गराउन कीर्ते कागजात बनाएको अभियोगमा विहीवार गाविस सचिव, कार्यालय सहयोगीसहित स्थानीय एकजनालाई रौतहटह प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मपुरका गाविस सचिव चन्देश्वर यादव, कार्यालय सहयोगी ब्रह्मदेव राय यादव र स्थानीय सुरेन्द्र यादव रहेका छन्।

गाउँकै रघुवीर साहकी छोरी रेणुकुमारी साहलाई गत वैशाख महिनामा धर्मपुर २ का राम विनय यादवका छोरा सतेन्द्र यादवले भगाएर बिहे गरेका थिए । दुवैजना फरार अवस्थामै गत जेठ ४ गते सर्लाही जिल्ला अदालतमा नाता प्रमाणित गराउन २०५४ वैशाख १८ गतेको जन्म मिति भएको गाविस धर्मपुरको जन्म दर्ता पेश गरी नाता कायम गराउन सफल भएका थिए । तर केटीका पिता रघुवीर साहले आफ्नो छोरीको उमेर नपुगेको भन्दै घरमा रहेको वास्तविक जन्म दर्ताको प्रमाणपत्र सहित जाहेरी दिएका थिए । जाहेरीमा केटीको जन्म मिति २०५७ भदौ ६ रहेको देखिन्छ । एउटै केटीको एउटै गाविसबाट दुई वटा जन्म मिति भएको प्रमाणपत्र फेला परेपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि यज्ञविनोद पोखरेलले बताएका छन् ।

अनुसन्धानकै क्रममा गाविस सचिव, कार्यालय सहयोगी र कीर्ते कागजात बनाउन सहयोग गर्ने अर्का एकजना युवकलाई पक्राउ गरिएको एसपी पोखरेलले बताएका छन् । उमेर ढाँटेर नाता प्रमाणित गराउन सफल बेहुला र बेहुली फरार नै रहेका छन् । फरार दुवैजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित: ८ असार २०७४ ११:५६ बिहीबार