समाज

भारतबाट भाले गोही ल्याइंदै

चितवन – राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एकमात्र भाले घडियाल गोही मरेपछि भारतीय सीमा क्षेत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको छ । भाले गोही मरेसँगै सङ्कटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समस्या देखिएको छ। 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले कर्णाली नदीमा बर्दियाको सीमा क्षेत्र कतर्निया घाटबाट भाले गोही ल्याउन पहल भइरहेको बताए। 

गत महिना भाले गोही मरेसँगै आफूले उत्तर प्रदेश वन विभागका अतिरिक्त सचिव आषिश तिवारीसँग टेलिफोनमा यस विषयमा कुरा गरेको उनले बताए। 

निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले हालसम्म नेपालका नदीमा एक हजार २४६ वटा गोही प्रजनन केन्द्र कसरामा हुर्काएर छाडिएको भए पनि सन् २०१६ मा गणना गर्दा नेपालका नदीमा १९८ वटा गोहीमात्र फेला परेका बताउनुभयो । जसमध्ये राप्ती र नारायणीमा मात्र १६६ वटा गोही फेला परेका थिए। 

गोहीले सामान्यतयाः ३० देखि ३२ डिग्री सेन्टिग्रेडको तापक्रममा अन्डा पार्ने गर्छ । प्रमुख संरक्षण अधिकृत कँडेलले भने – “३१ दशमलव ६ डिग्रीमा पारिएका अन्डाबाट केही भाले निस्कने भए पनि तापक्रम तलमाथि भएमा पोथीमात्रै निस्कने गर्छ।” त्यो तापक्रम मिलाउन आफैँमा कठिन हुने भएकाले पनि पोथीमात्र कोरल्ने गरेको उनले बताए। रासस 

प्रकाशित: ८ असार २०७४ १०:३७ बिहीबार