समाज

जुम्लाका स्थानीयले पाए वडाबाटै नुन

तातोपानी गाउँपालिका –२ मा नुन बाँडिँदै तस्बिर: नागरिक

जुम्लामा वडास्तर बाटै नुन वितरण गर्न सुरु गरिएको छ।

केही साताअघि नुन नपाइएको भन्दै उपभोक्ताले साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयमा तोडफोड गरेपछि वडास्तर बाटै नुन वितरण सुरु गरिएको हो।

साल्ट ट्रेडिङ कार्यालय जुम्लाले वडामा नुन पठाउन सुरु गरेपछि वडा कार्यालयले वितरण गर्न थालेका हुन्। जुम्लाको तातोपानी गाउँपालिका–२ का वडाध्यक्ष चन्द्रमान बुढाले वडाबाटै प्रतिघरधुरीलाई ३ केजी नुन वितरण गरिएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालय जुम्लाका प्रमुख खगेन्द्र मल्लका अनुसार तातोपानी गाउँपालिकाका १ देखि ७ नम्बर वडा, चन्दननाथ नगरपालिकाको १, ७, ८ र ९ वडामा र गुठीचौर गाउँपालिकाका २ र ४ वडाले प्रतिघरधुरी ३ केजीसम्म नुन बुझेको बताए।

यता स्थानीयले भेडा र पशु वस्तुका लागि भने ३ केजी नुनले नपुग्ने बताउँछन्। यसका लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।

प्रमुख मल्लका अनुसार अहिलेसम्म झन्डै ३ सय क्विन्टल नुन वडाले वितरणका लागि पठाइएको छ। 

जुम्लामा ८ वटा स्थानीय तह र ६० वटा वडा छन्। हिमार सिंजा गाउँपालिकाको लागि सिंजाको नराकोट बजारमा डिपो छ, भने कनकासुन्दरी गाउँपालिकाका लागि गोरुचौरमा नुन वितरण केन्द्र राखिएको छ।

यस्तै तातोपानी, तिला, चन्दननाथ नगरपालिका, गुठिचौर र पातारासी गाउँपालिकाका उपभोक्ताले जुम्लाको सदरमुकाममा अवस्थित साल्ट ट्रेडिङ कर्पोरेसन कार्यालयबाट नुन लिँदै आइरहेका थिए।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले उपभोक्ताले नुनका लागि भिडमा लाग्नुपर्ने बाध्यता हट्ने बताए। सोही अनुसार वडाबाट नुन वितरण गर्न निर्देशन गरिएको उनको भनाइ छ।

साउने सङ्क्रान्तिका लागि गएको असार ३१ गते नुन लिन कार्यालयमा गएर लाइनमा बसेका उपभोक्ताले नुन नपाएको भन्दै ढुङ्गा मुढा गरेर कार्यालय तोडफोड गरेका थिए।

प्रकाशित: ९ श्रावण २०८० १६:४१ मंगलबार