पर्सा प्रहरीले वीरगन्जबाट १९ राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमार रहेका छन्।
आइतबार राति वीरगन्ज महानगरपालिका–८ भानु चोकमा बसपार्कबाट खटेको प्रहरीले मुरारीलाई चेकजाँच गर्दा उनी भागेका थिए। भागेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रभु अस्पताल नजिकैबाट पक्राउ गरेको थियो।
मुरारीले बोकेको झोलाबाट सर्टगनमा प्रयोग हुने १९ राउण्ड गोली बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।
बसपार्कमा सामान चेकजाँच गर्ने क्रममा मुरारी भागेको र त्यही क्रममा पक्राउ गर्दा १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली १५ राउण्ड के.एफ लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान र १२ केएफ १२९६ लेखिएको राउण्ड १ थान गरी जम्मा १९ राउण्ड गोली भेटिएको उनले बताए।
पक्राउ परेका कुमारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ श्रावण २०८० १४:५३ सोमबार