समाज

ट्रान्सफरर्मर सर्ट भएपछि यति कार्पेटमा आगलागी

भक्तपुर- उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर भक्तपुरको यति कार्पेट उद्योगमा आगो लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। महागनरीय प्रहरी परिसर भक्तपुका प्रवक्ता डीएसपी कृष्ण प्रसाईले उद्योगसँगैको ट्रान्सफर्मर सर्ट भएर उद्योगमा आगो लागेको प्रारमिभ्क अनुसन्धानबाट देखिएको बताए। उद्योग नजिकै ट्रान्सफरर्मर रहेको छ।

भक्तपुर नगरपालिका २ सल्लाघारीस्थित यति कार्पेट उद्योगमा शनिबार रातिदेखि कारखानामा ठूलो आगो लागेको थियो। आगलागी करिब ९ घण्टापछि नियन्त्रणमा आएको छ।

आगो नियन्त्रणका लागि जुद्ध वारुण यन्त्रको २, नेपाली सेनाको २, काठमाडौंको २, ललितपुरको १, नेपाल प्रहरीको १ गरी ८ दमकलसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको खटेका थिए। आगलागी नियन्त्रणका लागि पानी ओसार्ने ट्यांकरसमेत प्रयोग गरिएको थियो। आगलागीबाट दुई वटा पक्की भवन, पाँच वटा जस्ताको टहरामा सञ्चालित कार्पेट उद्योग पूर्णरुपमा क्षति पुगेको छ।

आगलागीबाट कार्पेटका लागि आवश्यक कच्चा पदार्थ, २ वटा गाडी, डिजेल स्टोर, डीएफओ तेल स्टोर पूर्णरुपमा नष्ट भएको जनाइएको छ। कार्पेट उद्योग पूर्णरुपमा नष्ट भएकाले क्षतिको यकिन विवरण आउन नसके पनि करिब डेढ अर्बभन्दा बढीको क्षति भएको अनुमान गर्न गरिएको छ। यो उद्योगी अनिल केडियाद्वारा सञ्चालित कार्पेट उद्योग हो।

प्रकाशित: ४ असार २०७४ ०७:२० आइतबार