समाज

जाजरकोट– जुम्ला सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु

फाइल तस्बिर

जाजरकोटको कुशे गाउँपालिका–८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ।

पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले पहिलो चरण काम पूरा भएपछि डिपिआरका लागि दोस्रो चरुणको काम सुरु हुने बताए। हाल जाजरकोट सदरमुकाम पाँचकाटिया हुँदै हानिसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जुम्ला जोड्ने सडक निर्माण जारी छ।

जाजरकोट र जुम्ला जोड्ने सबैभन्दा छोटो बाटो सुरुङमार्ग नै हुने भएकोले यसमा जोड दिइएको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताए।साङटाबाट इमिल्चाघारीसम्म अहिलेको लम्बाइ झन्डै १० किलोमिटर छ। सुरुङका लागि करिब पाँच किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने पूर्वमन्त्री सिंहले बताए। हिँडेर झन्डै सात घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ भने सुरुङमार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने उनको भनाइ छ।

दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्नका लागि यो सडक सबैभन्दा छोटो हुने भएकाले काम सुरु गर्न लागिएको हो। अहिले जाजरकोट सदरमुकामबाट बारेकोट–४ को दहसम्म सडकको कच्ची कटान पूरा भएको छ। हलुका सवारी साधनसमेत सञ्चालन भइरहेका छन्। सदरमुकाम खलङ्गाबाट पाँचकाटिया हुँदै सुरुङमार्ग निर्माणस्थलसम्म सडक निर्माण जारी छ।

हिमाली क्षेत्रमा सडक निर्माण गर्दा त्यहाँको पर्यावरणीय सुन्दरता गुम्ने खतरा भएकाले सुरुङमार्ग निर्माणका लागि पहल थालिएको सिंहले बताए। जुम्ला, हुम्ला र मुगु जिल्लाबाट देशका ठूला सहरमा जोडिने सबैभन्दा छोटो रुटका रुपमा यसलाई लिइएको छ। जुम्लाबाट कालीकोट हुँदै नेपालगञ्ज तथा सुर्खेत जाने सडकभन्दा सुरुङमार्ग हुँदै नेपालगञ्ज, सुर्खेत जाँदा र आउँदा सात घण्टा छिटो हुने सडक डिभिजन चौरजहारीका प्रमुख आसुतोश कर्णको भनाइ छ।  

प्रकाशित: ६ श्रावण २०८० ०७:४० शनिबार

जाजरकोट– जुम्ला सुरुङमार्ग