समाज

सडक भत्किंदा खेतमै तरकारी कुहिंदै

दार्चुलाको व्यास र सदरमुकाम खलङ्गासम्म जोड्ने एक मात्र सडक खलङ्गा-तिङ्कर सडक बन्द हुँदा किसानले उत्पादन गरेको तरकारी खेतमै कुहिन थालेको छ।

असार दोस्रो सातादेखि वर्षाका कारण अवरुद्ध सो सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा सडक बन्द भएको हो। सडक बन्द भएपछि व्यासमा उत्पादित आलु ढुवानी गर्न नसकिंदा खेतबारीमै कुहिन थालेको कृषक हरिश धामीले बताए।

व्यास गाउँपालिकाको कृषि विकास शाखाको आर्थिक तथा प्राविधिक सहयोगमा उत्पादन गरिएको कृषि उत्पादन खेतबारीमा कुहिन थालेपछि किसान चिन्तित भएका छन्।

सरकारले उत्पादनमा मात्रै लगानी गरेर नहुने भन्दै उत्पादित कृषि उपजको ढुवानीमा समेत सहयोग गर्नुपर्ने व्यासका कृषकको भनाइ छ। जनभावना साना किसान कृषि सहकारी संस्था लिमिटेडले उत्पादन गरेको आलु खेतबारीमै कुहिन थालेको गाउँपालिकाको कृषि शाखाका प्रमुख विश्वेश्रप्रसाद बडूले बताए।

उनका अनुसार गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा किसानले उत्पादन गरेको छ सय क्विन्टल आलु खेतबारीमा कुहिन थालेको छ। एक सय क्विन्टल आलु खेतबाट निकालेको तथा पाँच सय क्विन्टल आलु खेतबारीबाट निकाल्न बाँकी रहेको उनले बताए।

‘न त सडक छ, न त कोल्ड स्टोर नै, व्यासका किसानले उत्पादन गरेको कृषि उपज दिनप्रति दिन खेतबारीमै कुहिंदै गएको छ’, कृषक अकबरसिंह धामीले भने।

बजारीकरणमा कृषि ज्ञान केन्द्र दार्चुलाले सहयोग गर्ने भने पनि सडक अवरुद्ध हुँदा कृषकले उत्पादन गरेकोआलु व्यासमै कुहिन थालेको छ।

‘हरेक वर्ष असारको सुरुआतमै सडक अवरुद्ध हुन्छ, कृषकले उत्पादन गरेको तरकारी खेतबारीमै कुहिन्छ, व्यासवासीको दुःख सम्झिने कोही छैन’, अर्का किसान प्रमानन्द भट्टले भने।

प्रकाशित: ६ श्रावण २०८० ०७:१९ शनिबार

किसानले उत्पादन गरेको तरकारी खलङ्गा-तिङ्कर सडक बन्द