समाज

एसईई पूरक साउन १९ गतेदेखि

भक्तपुर- परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ।

कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यसवर्ष नियमित तर्फ चार लाख ४५ हजार ५६४ जना परीक्षार्थी सहभागी भएकोमा १२ हजार २८४ जना जिपिए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिए।

एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।

कर्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ।

त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ:  अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ । रासस

 

 

प्रकाशित: २ असार २०७४ १०:३९ शुक्रबार

एसईई पूरक १९ गतेदेखि