समाज

साकेलाको वातावरणमैत्री हरित अभियान

क्याप्सन: सडक किनारमा बिरुवा रोप्दै अध्यक्ष राईलगायत। तस्विरः महेश्वर

बढ्दा जलवायु परिवर्तनलाई कम गर्दै वातावरण बचाउका लागि खोटाङको साकेला गाउँपालिकाले ‘वातावरणमैत्री हरित अभियान’ सञ्चालन गरेको छ। गत वर्षदेखि सुरु भएको सो अभियानलाई यस वर्ष पनि गाउँपालिकाले निरन्तरता दिन थालेको हो।

गाउँपालिकालाई हरियालीयुक्त बनाउँदै वातावरणमैत्री बनाई राख्ने उद्देश्यले कार्यालय, विद्यालय, सडक किनारलगायत सार्वजनिक स्थलहरूमा बिरुवा रोप्ने अभियानलाई निरन्तरता दिन लागेको हो। जस अनुसार चालु वर्षको सुरुवातमै गाउँपालिकाको आन्तरिक सडक किनारमा बिरुवा रोप्न सुरु भएको छ। गत वर्षदेखि सुरु अभियान अन्तर्गत चालु वर्षको सुरुमै बुधवारदेखि सडक किनारमा बिरुवा रोपन कार्य थालिएको छ।

गतवर्ष गाउँपालिका केन्द्र मानेभञ्ज्याङमा  कार्यालय परिसरभित्र करिब ६ सय बिभिन्न जातका बिरुवा रोपिएको थियो भने चालु वर्षको सुरुमै आन्तरिक साप्सुखोला–मानेभञज्याङ–तावाभञ्ज्याङ खण्ड सडकको किनारमा बिभिन्न प्रजातिका बिरुवा रोप्न थालिएको हो। गाउँपालिका र सडक निर्माण कम्पनी मल्ल कन्स्ट्रक्सनको संयुक्त पहलमा सडक किनारमा बिरुवा रोपिएको हो।

सडक किनारमा स्थानीय भौगोलिक बनावट र हावापानी सुहाउँदो फलफूलजन्य बिरुवा रोपिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए। उनका अनुसार भौगोलिक हावापानी सुहाउँदो तथा भूक्षय नियन्त्रण गर्नेखालका जैविक प्रकृतिका बिरुवा रोपिएको छ।  सो सडकले समुन्द्री सतहभन्दा १ हजार २ सय मिटरदेखि २ हजार ८ सय मिटरसम्म उचाइको भूभाग छोएको चिसो हावापानीमा त्यही सुहाउँदो बिरुवा रोपिएको अध्यक्ष राईले बताए। जस अनुसार उच्च र मध्ये क्षेत्रको भूभागमा गुलमोहर, निलमोहर, ज्याकार अण्डा प्रजातिका बिरुवा रोपिएको छ भने तल्लो वेँशीक्षेत्रमा अशोकलगायत फलफुलजन्य बिभिन्न प्रजातिको बिरुवा रोपिएको छ।

अध्यक्ष राईका अनुसार यो सुरुवात मात्र हो, अझै वर्ष भरी नै बिरुवा लगाउने योजना गाउँपालिकाले बनाएको छ। साकेलालाई हरित र वातावरणमैत्री गाउँपालिका निर्माण गर्ने उदेश्य अनुसार बिरुवा रोपन अभियान थालिएको उनले बताए। गतवर्ष पनि कार्यालय परिसरमा यसरी नै बिभिन्न प्रजातिका बिरुवा रोपिएको थियो भने केन्द्र बजार मानेभन्ज्याङ क्षेत्रमा रोपिएका बिरुवा हुर्कँदै गएको छ। यस वर्ष त्यसकै निरन्तरतास्वर १० हजार बिरुवा रोप्ने तयारी भईरहेको राईले बताए।

गाउँपालिकाले सडक किनारसँगै प्रत्येक सामुदायिक विद्यालय, वडा कार्यालय, अस्पताल तथा स्वास्थ्य संस्था र सार्वजनिक स्थलहरूमा पनि भूगोल र हावापानी सुहाउँदो बोट बिरुवा रोप्ने योजना छ। बेँसी खोँच र उच्च पहाडी लेकसम्मको भूगोल समेटिएको साकेलामा बहुप्रतिका बोटबिरुवा र फलफूलहरू फस्टाउने गरेको छ। बिरुवा रोप्नका लागि गाउँपालिकाले डिभिजन वन, सब डिभिजनलगायत बिभिन्न फलफूलका नर्सरीसँग बिरुवा माग्न समन्वय गरिरहेको जनाएको छ। 

प्रकाशित: ४ श्रावण २०८० १४:५२ बिहीबार

साकेलाको वातावरणमैत्री हरित अभियान