समाज

बेँसीसहरमा एकैरातमा तीन ठाउँमा चोरी

लमजुङ (बेँसीसहर)-  सदरमुकाम बेँसीसहरमा एकैरातमा तीन स्थानमा चोरी भएको छ। केही साताअघिमात्रै बजारमा जडान गरिएका सिसी क्यामेरा समेत छलेर चोरी भएको हो।

बेंसीसहर–२, भकुण्डेस्थित अभिषेक किराना पसलबाट रु पाँच हजार ५००, रु तीन हजार ५०० बराबरको एनटिसी र एनसेलको रिचार्ड कार्ड, सूर्य चुरोट एक बन्डल र एउटा कोरियन झोला गरी करिब रु १२ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

त्यसैगरी बेँसीसहर–२ चालिसेस्थित राजेश अधिकारीको घरबाट आधा तोलाको सुनको जन्तर र चार तोला बराबरको चाँदीको सिक्री र पाउजु चोरी भएको छ । घरमा कोही नभएको मौका पारी ढोका फोरेर चोरी भएको बताइएको छ ।

त्यसैगरी बेँसीसहर–७ गैरीधारास्थित खड्क गुरुङको अनटेस्ट पल्सर बाइक चोरी भएको छ । घरमै राखिएको नयाँ मोटरसाइकल रातिको समयमा चोरी भएको हो । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए। रासस

 

प्रकाशित: ३० जेष्ठ २०७४ १०:३२ मंगलबार

बेँसीसहरमा एकैरातमा ठाउँमा चोरी