समाज

कर्णालीमै पहिलो पटक ट्राउट माछा

पोखरीमा रेन्बो ट्राउट माछा देखाउँदै किसान लोकबहादुर थापा। तस्बिर: गोविन्द केसी/नागरिक

कर्णालीमा पहिलो पटक ट्राउट माछाको व्यावसायिक पालन सुरु गरिएको छ। दैलेखको नारायण नगरपालिका –१० भवानीका किसान लोकबहादुर थापाले चिसो हावापानीमा हुने ट्राउट माछाको व्यावसायिक पालन सुरु गरेका हुन्।

चिसो र पानी बगिरहने ठाउँमा यो जातको माछा पालन गर्न सकिन्छ। स्वादिष्ट माछाका रुपमा रहेको ट्राउट माछा हुर्काउन निकै गाह्रो हुने गर्दछ। हावापानी र मौसम उपयुक्त हुनुपर्ने भएकाले चुनौतीका साथ माछा व्यवसायी थापाले लगानी गरेका हुन्।

आफूले जानेको सिपको सही सदुपयोग गर्दै करिब ८ लाख लगानी गरेर माछा पालन गरेको उनी बताउँछन्। उनको फर्ममा पहिलो चरणमा ५ हजार १ सय ६५ माछाका भुरा रहेका छन्। फर्ममा अहिले रेन्बो ट्राउट माछाका भुरा हालेको थापाको भनाई छ।

‘ट्राउट माछा पालनको लागि उपयुक्त ठाउँ भएकाले सुरु गरेको हुँ।’ व्यवसायी लोकबहादुर थापाले भने, कर्णालीमै यो जातको माछा यहाँ मात्र पालिएको हो।’

नेपालमा यो जातको माछा ग्राहकहरुले खुवै रुचाउने गर्दछन्। खोला र नदिबाट सीमित माछाको भर पर्नुपर्ने यहाँका उपभोक्ताहरू ट्राउट माछा उत्पादन हुन थालेसँगै माछाको माग धान्नेछ। दैलेखमा माछा व्यवसाय गर्ने किसानहरु न्यून रहेका छन्।

माछाको उत्पादन बढाउन र कृषकलाई माछा पालनतर्फ आकर्षित गर्न नारायण नगरपालिकाको पशुपंक्षी विकास शाखा मार्फत नवप्रवर्द्धन साझेदारी कार्यक्रम अन्तर्गत नगरपालिकाले किसानलाई पनि लगानी गरेको छ।

माछा पालनमा साझेदारी मार्फत नगरपालिकाको आर्थिक सहयोग रहेको पशुपंक्षी विकास शाखाका सहायक प्रमुख चित्र प्याकुरेलले बताए। नगरपालिकाले पोखरी निर्माण गरेको किसानलाई माछा सहुलियतमा सहयोग गरिएको प्याकुरेलले बताए।

जिल्लामा माछाको खपत बढाउन र बाह्रै महिना माछा उपलब्ध हुन सक्ने गरी योजनाका साथ कार्यविधि बनाएर काम गर्न थालिएको नगरपालिकाले जनाएको छ।

दैलेखका उच्च भागहरुमा रेन्बो ट्राउट माछा उत्पादन हुने भएकाले किसानहरुलाई आकर्षित गर्न विभिन्न कार्यक्रम बनाइने पशुपंक्षी विकास शाखाले जानकारी दिएको छ।

प्रकाशित: ३ श्रावण २०८० १०:२८ बुधबार