समाज

ताप्लेजुङमा ६५ करोड बढी बजेट फ्रिज

फाइल तस्बिर

ताप्लेजुङमा आर्थिक वर्ष २०७९/८० मा फ्रिज भएको कुल रकम ६५ करोड रुपैयाँ नाघेको छ। गत असार अन्तिम साता कोष तथा लेखा नियन्त्रक कार्यालयले ५५ करोड रुपैयाँ हाराहारी फ्रिज हुन सक्ने अनुमान गरेको थियो। 

कोलेनिकाका निमित्त कार्यालय प्रमुख दुर्गाप्रसाद थापाका अनुसार आव २०७९/८० मा यहाँबाट ६५ करोड ८ लाख ७ हजार ६ सय ३५ रुपैयाँ फ्रिज भएको छ।

सरकारी निकायले खर्च हुन नसकेको त्यस्तो रकमलाई सिधै फ्रिज नभनी ‘खर्च हुन बाँकी’भनेर आर्थिक श्रेष्ता प्रणालीको महलमा लेख्ने गरेका छन्। कोलेनिकाका लेखापाल शंकर राउतका अनुसार संघीय अन्र्तगतको बजेटतर्फ ५६ करोड ८१ लाख ६९ हजार ३ सय ८४ रुपैयाँ तथा प्रदेश अन्र्तगतको बजेटतर्फ ८ करोड ९१ लाख १८ हजार २ सय ५१ रुपैयाँ खर्च हुन सकेन।

संघीय अन्र्तगतको बजेटतर्फ चालूमा ९३ प्रतिशत र पुँजीगतमा ७३ प्रतिशत हाराहारी खर्च भएको पाइएको छ। प्रदेश अन्र्तगतको बजेट भने चालू र पुँजीगतमा हाराहारी रुपमै खर्च भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयका निमित्त प्रमुख दुर्गाप्रसाद थापाका अनुसार चालू र पुँजीगत गरी संघीय अन्र्तगतको बजेटमा ८९.८३ प्रतिशत र प्रदेश अन्र्तगतको बजेटमा ८४.२२ प्रतिशत खर्च भएको छ।

संघीय अन्र्तगतको चालू शीर्षकको बजेटतर्फ ९३.०७ प्रतिशत र पुँजीगत शीर्षकको बजेटमा ७२.८२ प्रतिशत खर्च भएको छ। प्रदेश अन्र्तगतको बजेटमा चालू शीर्षकको बजेटतर्फ ८५.१७ प्रतिशत र पुँजीगततर्फ ८२.०२ प्रतिशत खर्च भएको छ।  

प्रकाशित: ३ श्रावण २०८० ०७:१८ बुधबार

बजेट