समाज

बालक मृत्यु प्रकरण: मेडिकल सञ्चालकसहित दुई पक्राउ

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–८ मा शनिबार साँझ तीन वर्षीय बालक आनुन दर्जीको मृत्यु भयो।

बालकको मृत्यु प्रकरणमा एक स्थानीय मेडिकल सञ्चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा स्थानीय मेडिकल सञ्चालक सोही ठाउँका धिरेन्द्र केसी र एक जना रेडक्रसका कर्मचारी रहेका छन्। मेडिकलबाट मृतक बालकले औषधि सेवन गरेको देखिएपछि अनुसन्धानका लागि प्रहरीले मेडिकल सञ्चालक केसी र कर्मचारीलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले घटना शङ्कास्पद भएकाले अनुसन्धान भइरहेको बताए।

‘‘हामी अनुसन्धानमा छौँ, अहिले यसै हो भन्न मिल्दैन, मृतक बालकका मावलीले बालकको मृत्यु औषधि सेवनभन्दा पनि यातनाका कारणले मृत्यु भएको आरोप लगाइरहेका छन्। यसबारे अनुसन्धान भइरहेको छ।’’ उनले भने।

मृतक बालकका हजुरबुवाले आफ्नो नाति आनुनलाई उनका बुवाले यातना दिएर मारेको आरोप लगाएका थिए।

प्रहरी प्रमुख रिमालले बाहिर जे कुरा आए पनि आफूकहाँ बालकका बुवाको बारेमा कुनै निवेदन नपरेको बताए। उनले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए।

मृतक बालकको रास्कोट अस्पतालमा पोस्टमार्टम भएको छ। पोस्टमार्टममा सङ्लन्न चिकित्सकले मृत्युको कारण भन्न नमिल्ने बताइरहेका छन्।

मृतक बालकको अहिलेसम्म जन्म दर्ता पनि छैन। वडा नं ८ का वडा अध्यक्ष नौलासिंह बुढाले वडामा जन्म दर्ताको कुनै प्रमाण नभएको बताए।

प्रकाशित: २ श्रावण २०८० १३:३९ मंगलबार