डेढ दशकदेखि योजना र कागजमै सीमित बाहिरी चक्रपथको प्रारम्भिक काम सुरु भएको छ।
जग्गा एकीकरणमार्फत निर्माण अघि बढाउन सरकारले प्रारम्भिक काम सुरु गरेसँगै अब बाहिरी चक्रपथ निर्माण हुने सुनिश्चित भएको छ। बाहिरी चक्रपथ आयोजनाले पहिलो चरणमा सतुंगल–गाम्चा–चोभार खण्डको साढे ६ किलोमिटर सडक निर्माण गर्न जग्ग्ाा रोक्का प्रक्रिया थालेको हो।
जग्गा एकीकरणमार्फत निर्माण अघि बढाउन सरकारले प्रारम्भिक काम सुरु गरेसँगै अब बाहिरी चक्रपथ निर्माण हुने सुनिश्चित भएको छ।
'जग्गा रोक्का प्रक्रिया थालिसकेका छौं,' आयोजनाका शाखा अधिकृत ध्रुवप्रसाद सापकोटाले भने, 'अब उपभोक्ता समिति गठन गरेर जग्गा एकीकरणको काम थाल्छौंं।' यस क्षेत्रमा ६ वटा उपभोक्ता समिति गठन गरेर जग्गा एकीकरण अघि बढाइनेछ।
रोक्का राखिएको बाहिरी चक्रपथ आयोजना अन्तर्गतको ७ हजार ८ सय रोपनी जग्गामा अब बेच्न र पूर्वाधार बनाउन पाइने छैन। सरकारले पहिलो चरणको सडक निर्माण गर्न ६ अर्ब रूपैया“ छुट्याएको छ।
सापकोटाका अनुसार दुई वर्षभित्र सरकारले जग्गा एकीकरण गरेर जनतालाई फिर्ता गर्नेछ। बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्र सहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च सरकारले बेहोर्नेछ। बाहिरी चक्रपथको मूल सडकबाट दायाँ–बायाँ २ सय ५० मिटर क्षेत्रफलमा जग्गा एकीकरण (ल्याल्ड–पुलिङ) बाट व्यवस्थित सहरीकरण गर्न लागिएको हो। बाहिरी चक्रपथमा ८ लेनको सडक, साइकल यात्रीका लागि छुट्टै लेन, हरियाली क्षेत्र र फुटपाथ तथा अपांगमैत्री पेटी बन्नेछ।
लामो समयदेखि डिपिआर स्वीकृत नहुँदा बाहिरी चक्रपथबारे अन्योल थियो। सहरी विकास मन्त्रालयले गत वैशाख १३ गते सतुंगल–गाम्चा–चोभार खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) स्वीकृत गरेसँगै बाहिरी चक्रपथ बन्ने निश्चित भएको हो।
सहरी विकास मन्त्रालयका सहसचिव डा. रमेशप्रसाद सिंहले डिपिआर पारित भएसँगै बाहिरी चक्रपथ बन्ने आधार तय भएको बताए। '१३ वर्षदेखि बाहिरी चक्रपथ कागजमै थन्कियो,' उनले भने, 'डिपिआर स्वीकृत भएर राजपत्रमा सूचना निकाली सकेका छौं। अब जग्गा रोक्का गरेर निर्माण थाल्छौं।'
बाहिरी चक्रपथले उपत्यकाका काँठ क्षेत्र र सहरलाई जोड्नेछ। यो काठमाडौं–तराई द्रुतमार्गसँग पनि जोडिनेछ। बाहिरी चक्रपथको लम्बाई ७१ दशमलव ९३ किलोमिटर हुनेछ। त्यसमध्ये काठमाडौंमा ३५ दशमलव ०८, ललितपुरमा १५ दशमलव ८० र भक्तपुरमा २१ दशमलव ०५ किमी क्षेत्र पर्छन्।
त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुने चक्रपथ नैकाप भञ्ज्याङ, थापागाउँ, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भु, वनस्थली, बालाजु औद्योगिक क्षेत्र, बाइपास, गोंगबु, हिलेडोल, मनमैँजु, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै अघि बढ्नेछ।
भक्तपुरमा थली–डाँछी, चाँगुनारायण, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, भक्तपुर नगरपालिका, हनुमन्ते खोला, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोटलगायतलाई बाहिरी चक्रपथले छुनेछ।
ललितपुरमा भने लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, बागमती पुल, चोभार, कीर्तिपुर, गाम्चा, मच्छेगाउँ हुँदै सतुंगल पुगेर सकिनेछ।
आयोजना प्रमुख दीपक श्रेष्ठले बाहिरी चक्रपथ बन्दा कोहीपनि स्थानीय विस्थापित हुनु नपर्ने बताउँछन्। 'जग्गा एकीकरणमार्फत सहरीकरण गर्दा स्थानीय विस्थापित हुन नपर्ने अवस्था आउँदैन,' उनले भने, 'जग्गा धनीले केही समयका लागि जग्गा सरकारलाई दिनुपर्छ, सरकारले व्यवस्थित डिजाइन गरेर जनतालाई हस्तान्तरण गर्नेछ।'
जग्गा एकीकरण गर्दा जग्गाधनी विस्थापित हुन नपर्ने र सरकारले मुआब्जा दिनु नपर्ने भएकाले चक्रपथ विस्तारमा समस्या नआउने उनी बताउँछन्। यसमा सर्वसाधारणको ३५ प्रतिशत जग्गा लाग्नेछ। ६५ प्रतिशत जग्गा व्यवस्थित सहरीकरण गरेर जनतालाई फिर्ता गरिनेछ।
काठमाडौं उपत्यका विकास प्राधिकरण नियमावली–२०६८ को नियम १३ अनुसार जग्गा एकीकरण गर्न न्यूनतम क्षेत्रफल दुई आना दुई पैसा तोकिएको छ। यो भन्दा कम क्षेत्रफल हुनेले भने एकीकरण गरिएको बिक्री प्लटबाट सस्तो मूल्यमा जग्गा खरिद गर्न वा चलन चल्तीको मूल्यमा बिक्री गर्न पाउनेछन्।
एकीकरण गरिएको जग्गामा व्यवस्थित भवन, खुला आवास क्षेत्र, ढल, खानेपानी, बिजुली, सामुदायिक भवनलगायत पूर्वाधारलाई प्रथामिकतामा राखेर डिजाइन गरिनेछ। काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारी सरकारले पहिलोपटक ठूलो क्षेत्रफलमा जग्गा एकीकरणमार्फत सहरीकरण गर्न लागेको बताउँछन्।
'बाहिरी चक्रपथले काँठ र सहरी क्षेत्रलाई जोड्ने मात्रै र उपत्यकामा व्यवस्थित सहरीकरणको जग बसाल्नेछ,' उनले भने, 'बाहिरी चक्रपथ निर्माणले अहिले भइरहेको ट्राफिक जाम र अस्तव्यस्त सहरलाई सुधार्नेछ।'
प्रकाशित: २९ जेष्ठ २०७४ ०४:४७ सोमबार