समाज

आकाशे पुल बनाउने योजना अलपत्र

२०७९ भदौ ४ गते नेपालगन्जस्थित राँझामा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले आकाशे पुलको शिलान्यास गरे। त्यतिबेला नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोकसँगै कारकाँदो चोक र कोहलपुरमा न्युरोड चोक र त्रिभुवन नमुना उमाविको अगाडि आकाशे पुल निर्माण गरिने भनिएको थियो।

यसअघि डा. धवलशमशेर राणा नेपालगन्जको मेयर हुँदा २०७५ मा पनि धम्बोझीमा आकाशे पुल बनाउने भनिएको थियो। जसका लागि नगरले एक करोड रूपैयाँसमेत विनियोजन गरेको थियो, तर आकाशे पुल बन्ने योजना अलपत्र अवस्थामा छ।

एक ठाउँमा शिलान्यास हुनेबाहेक अरू प्रगति शून्य छ। नेपालगन्जवासीको आकाशे पुल बनाउने सपना अधुरै रहने निश्चित देखिन्छ। हतारमा शिलान्यास गरेपछि माटो परीक्षणको कामसमेत भयो, तर त्यसयता निमार्णका कुनै काम अघि बढ्न सकेको छैन। बरु तत्कालीन डिजाइन सच्याउन सडक डिभिजन कार्यालय नेपालगन्जले सडक विभागलाई पत्र लेखेको छ। ‘रिभ्यु’का लागि पठाएको पत्र स्वीकृत वा अस्वीकृत भयो भन्ने यकिन नहुँदासम्म काम सुरु नहुने निश्चितप्रायः छ। आकाशे पुलको तत्कालीन डिजाइन रिभ्यु गर्नुपर्ने अवस्था आउनु भनेकै शिलान्यास हतारमा गरिएको थियो भन्ने पुष्टि हुन्छ। कुनै परिपक्व डिजाइनबिना नै निर्वाचनपूर्व (२०७९ मंसिर) निर्वाचन प्रभावित गर्ने उद्देश्यले आकाशे पुलको शिलान्यास गरिएको आरोप लागेको छ।

डाइनामिक कन्स्ट्रक्सन निर्माण कम्पनीसँग २०७९ कात्तिक २८ सम्झौता भएपश्चात् कम्पनीले सबैभन्दा पहिले राँझा चोकमै आकाशे पुल निर्माणका लागि काम सुरु गरेको थियो। जबकि शिलान्यास भदौ ४ मै गरिएको थियो। आकाशे पुल निर्माण गर्नका लागि खनिएको खाल्डो राँझा चोकमा धरापमा परिणत भएको छ। सडकछेउमै खनिएको खाल्डोमा न काम सुरु भयो, न त पुर्ने काम भएको छ। त्यसले सवारी दुर्घटनाको जोखिम बढाएको छ।

सडक डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी जनक धामीले डिजाइन रिभ्यु स्वीकृत हुनेबित्तिकै काम सुरु हुने बताए। काम सुरु हुनेमा ढुक्न हुन अनुरोध गर्दै धामीले भने, ‘बजेट फ्रिज हुने समस्या छैन। डिजाइन रिभ्यु स्वीकृत हुनेबित्तिकै पाँचवटै आकाशे पुलको काम सुरु हुन्छ।’धामीले दिएको जानकारीअनुसार राँझामा हालकै अवस्थामा पुल बनाउँदा पूर्वछेउमा सिक्टा सिँचाइको डुडुवा नालामा पर्छ। उक्त नालाको उचाइ र लम्बाइ बढाउनुपर्ने आवश्यकताका आधारमा डिजाइन रिभ्यु गर्नुपर्ने आवश्यकता महसुस गरेर पहिल्यै बजेट माग गरिएको धामी बताउँछन्। अब नयाँ डिजाइन स्वीकृत भएर आएपछि धमाधम काम सुरु हुने र तोकिएको समयभित्रै काम सम्पन्न हुने धामी दाबी गर्छन्।

निर्माण कम्पनीसँग पाँचवटा आकाशे पुल १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कात्तिक २८ मा सम्झौता गरिएको छ। पुल निर्माण गर्नका लागि करसहित आठ करोड २१ लाख ४५ हजार रूपैयाँ लागतको सम्झौता भएको छ।  

आकाशे पुल निर्माणमा भइरहेको ढिलाइका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले चासो राखेका छन्। उनले डिजाइन परिवर्तनको काम हुनेबित्तिकै निर्माणसम्बन्धी काम सुरु हुने आशा गरिएको बताए। नेपालगन्जमा २०७५ सालदेखि नै आकाशे पुल निर्माणको चर्चा चलेको थियो। आकाशे पुल बनेपछि पैदलयात्रीलाई धेरै सहज हुने र दुर्घटनामा कमी आउने विश्वास गरिएको छ।

प्रकाशित: २ श्रावण २०८० ०३:०२ मंगलबार

आकाशे पुल बनाउने योजना अलपत्र