समाज

‘गौर हत्याकााण्ड’ का दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

‘गौर हत्याकाण्ड’का दोषीमाथि कारबाहीको माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ। गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आयोजनामा रौतहट सदरमुकाम गौरमा सोमबार प्रदर्शन गरिएको हो।

२०६३ चैत ७ गते रौतहटको सदरमुकाम गौरमा रहेको राइस मिलस्थित चौरमा दिउँसो १ बजेर ४५ मिनेटमा तत्कालीन नेकपा माओवादीको २७ जना नेता तथा कार्यकर्तालाई अमानवीय तरिकाले हत्या गरिएको घटनाको दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो।

घटनाका दोषीमाथि कारबाहीको माग गर्दै रौतहटका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ। ज्ञापनपत्रमा साउन १२ सम्म पालिकाहरुमा गौर हत्याकाण्डको जानकारी एवं अन्तरक्रिया,  १३ गते सहिद परिवार एवं पीडितहरुद्वारा धरना, १४ गते मोटरसाइकल रैली तथा १५ गतेदेखि अनिश्चितकालीन रौतहट बन्दको घोषणा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मानव अधिकार आयोग तथा सर्वोच्च अदालतसमेतलाई बोधार्थ गरिएको ज्ञापनपत्रमा जिल्ला प्रहरी कार्यालय रौतहटमा २०६४ चैत २८ गते जाहेरी दर्ता गरिएको पनि कारबाही प्रक्रियाको प्रारम्भिक काम पनि गर्न नसकेको आरोप लगाइएको छ।

ज्ञापनपत्रमा घटनाको वास्तविक तथ्य पत्ता लगाउनको लागि नेपाल सरकारले तत्कालीन पुनरावेदन अदालतका माननीय न्यायाधीश हरिप्रसाद शर्माको संयोजकत्वमा गठन गरेको छानबिन आयोगले नेपाल सरकारलाई बुझाएको प्रतिवेदनमा राष्ट्रिय मानव अधिकार आयोग समेतको प्रतिवेदनले उक्त घटनालाई राजनैतिक झडप नभई जघन्य एवम् अमानुषिक र अमानवीय अपराध गरेको भनी तथ्यगत बुँदा पुष्टि हुने गरी निष्कर्षसहितको प्रतिवेदन पेश गरेको उल्लेख गरिएको छ।

प्रकाशित: १ श्रावण २०८० ११:५३ सोमबार

गौर हत्याकाण्ड