समाज

बिरामीलाई औषधीको भारी

पोलिक्लिनिकले सानुकान्छा तमाङलाई दिएको औषधी । तस्बिर : रमेश खतिवडा

दोलखा – जिल्लाको तामाकोशी गाउँपालिका १ भिरकोटका ४४ वर्षीय सानुकान्छा भुजेल जेठ १ गते देखि हनहनी आएको ज्वरोले एक साता बढी थलामै परे। 

घरेलु दबाई  र सिटामोलले ज्वरो त निको भयो तर कोखा दुख्ने र पेट पोल्ने समस्या बढ्न थालेपछि उनी जेठको ५ गते छोरा बुहारीको साथ लागेर दोलखा सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा रहेको गौरीशंकर पोलिक्लिनिकमा उपचारका गर्न गए । 

अस्पतालका चिकित्सक विवेक पराजुलीले उनको भिडियो एक्सरे र रगत जाँच गरे । ‘आन्द्रामा एच पाईलरी भन्ने ब्याक्टेरिया जसलाई सफा गर्न र  हटाउन १४ दिनका लागी निम्न औषधी चलाउनु र १४ दिन पछि जसरी पनि फलो अप जाँचमा आउनु’ –  डाक्टरले प्रेस्क्रिप्सन (बिरामी जाँचेको कागज) मा लेखेर औषधी किन्न क्लिनिककै मेडिकलका कर्मचारीलाई थमाए । उक्त मेडिकलले प्रेसक्रिप्सनमा लेखिए अनुसार उनलाई १ हजार एम जी देखी ५ सय एम जी सम्मका ८ थरी कडा औषधी दिएर पठायो । त्यसमा कडा एन्टीबाइटीक देखि एसीक्लोफेनेक नामक पेनकिलर र ट्रेड नामक निन्द्रा लगाउने औषधी सम्म थिए । मेडिकललाई ८ थरी औषधी वापत ३३ सय ७० रुपैंया र भिडियो एक्स्रे र रगत जाँच वापत १ हजार रुपैंया तिरेर भुजेल घर फर्किए । भुजेलका अनुसार उनलाई २ दिन पछि नै निको भयो तर औषधी १४ दिन सम्म सेवन गरिरहे । 

१४ दिन पछि आउनु भनेकाले सानुकान्छा जेठ १९ गते सोमबार फेरि चरिकोट स्थित उही पोलिक्लिनिकमा गए । पुरानै प्रक्रिया अन्तर्गत उनको रगत जाँच भयो, भिडियो एक्सरे गराइयो । ‘अलि कति कम भएको छ तर पूर्ण सफा गर्न एक महिना फेरी औषधी खानुपर्छ, नत्र आन्द्रामा घाउ भएर क्यान्सर हुनसक्छ, सजग रहनु ’ – डाक्टरको फेरि निर्देशन पछि हैरानी खेपेका उनी कागज बोकेर मेडिकलमा झरे । जाँचको एक हजार तिरे । मेडिकल वालाले धमाधम र्याकबाट १ हजार एमजीको एमोक्सीलन, ५ सय एमजीको क्यालिथ्रो माईसिन र ग्याष्ट्रिकको पेन्टप लगायतका औषधी एक महिनालाई दिईएर पठाईयो । औषधी वापत उनले फेरि २५ सय ९० रुपैया तिरे । 

औषधी बोकेर बाहिरिएका उनलाई डाक्टरले भनेको एउटा वाक्य ‘औषधी खाए खानुस, नखाए क्यान्सर हुन्छ’ ले बिझायो । ज्वरो आएर दुई दिन कोखा दुख्दा लगातारको चेकजाँच र औषधीमा खर्च अनि फेरि अर्को एक महिनाको औषधी, नत्र क्यान्सर । महंगो औषधी खाएर कसरी बाच्नु ? सामन्य खेती किसानी गर्ने उनले ऋण गरेर खर्च नगर्ने बाटो रोजे । पोलिक्लिनिक रहेको सातदोबाटो चोकबाट केही पर भेटनरी चोक अगाडि मेटासिट किन्दै थिए । गाउँकै कुमार भुजेल, (जो कांग्रेस जिल्ला कार्य समितिको सदस्य समेत हुन) ले उनलाई मेटासिट किन्दै गरेको भेटे । 

केही बेर पछि सबै पीडा सानुकान्छाले कुमारलाई सुनाए । कुमारले उनलाई तत्कालै सरकार र एउटा दातृ निकायले सञ्चालन गरेको सुविधासम्पन्न प्रस्तावित चरिकोट अस्पतालमा लगे । डाक्टरले जाँच गरे । दिसा, रगत र भिडियो एक्स्रे जाँच गर्दा एच पाईलरी नेगेटिभ देखियो । बरु हेमोग्लोबिनको मात्रा थोरै  कमी देखिएपछि डाक्टरले आइरन र ग्याष्ट्रीकको औषधी ओमे प्राजोल दिएर घर फर्काए । 

सानुकान्छा अहिले स्वस्थ भईसकेका छन् । ‘त्यो अस्पतालले जथाभावी दबाई दिएर मेरो पैसा सिध्याइदियो, मलाई झण्डै मर्न बाध्य पनि बनायो’– बिहीबार दिउँसो खेतमा काम गर्दै गरेका सानुकान्छाले टेलिफोनमा सुनाए– ‘मेरो गाउँको मान्छे भेटेकाले म बाँचे, अब उक्त अस्पतालबाट न्याय पाउँ भन्ने चाहन्छु’ । 

तीन दिन ज्वरो आउदा १० थरी एन्टीबाईटिक   
सानुकान्छा जस्तै जिल्लाको कालिञ्चोक गाउँपालिका ८ सुनखानीकी ६६ वर्षीया वृद्धा पदमकुमारी बुढाथोकी ३ दिन देखिको ज्वरो र दुई पटकको वान्ता गरेको समस्या लिएर सोही पोलिक्लिनिक पुगिन् । डाक्टरले जाँच गरे । ढाड दुखेको, टाउको दुख्ने गरेको जस्ता सामन्य लक्षणलाई आधार बनाएर १० थरी औषधी लेखिदिए त्यसमा ४ थरी त एन्टीबाईटिक मात्र । जोन नामक एन्टीबाईटिकको स्लाईन एक डोज लिईन् । 

औषधी बोकेर पद्मकुमारी घर फर्किईन तर उनलाई दुई दिन पछि सामन्य अप्ठेरो महशुस हुने र रिगंटा लाग्ने लक्षण देखिदै जान थाल्यो । छिमेकीले सदरमुकामकै सरकारी अस्पताल जान सुझाए । अस्पतालका चिकित्सकले जाँचे । ३ ओटा एन्टीबाईटिक सहित औषधीको मात्रा अत्याधिक चलाएका कारण असर परेको भन्दै उनलाई सामन्य एन्टीबाईटिक र पारासिटामोल दिएर पठाए । 

‘ल्याब रिपोर्टका आधारमा औषधी चलाएको हुँ’ 
दोलखा गौरीशंकर पोलिक्लिनिकका चिकित्सक, डाक्टर विवेक पराजुलीले आफूले सानुकान्छा भुजेललाई पोलिक्लिनिकको ल्याब रिपोर्टका आधारमा औषधी चलाएको दाबी गरेका छन् । ‘पहिलो पटक आउँदा समस्या देखिएपछि औषधी लेखेको हु’ उनले नागरिकसंग भने – ‘त्यतीबेला उहाँमा समस्या नै देखिएका कारण ति औषधीहरु लेखेर पठाएको हुँ’ । तर दोश्रो पटक आउँदा सुधार भएको हुनसक्ने आफूलाई लागेपनि जाँचका लागि ल्याबमा पठाउँदा आन्द्रामा घाउ हुने अल्सरको समस्या यथावत देखिइरहेका कारण एक महिनाका लागि औषधी थप गरेर पठाएको उनले दाबी गरे । ‘डाक्टरले आफ्नो मनखुसीले कहिले पनि औषधी लेख्दैन’ उनले भने – ‘दोश्रो पटक फलो अपमा आउँदा ल्याबको रिपोर्टका आधारमा दोश्रो पटक समेत औषधी लेखेको हुँ’ । उनले आफ्नो अस्पतालमा देखिएको प्रयोगशालाको रिपोर्ट अर्को अस्पतालमा अर्कै आउन सक्ने समेत दाबी गरे। 

 

प्रकाशित: २५ जेष्ठ २०७४ ११:३८ बिहीबार

बिरामीलाई औषधीको भारी