समाज

प्रहरीको स्टिकर टाँस्ने अभियान सुरु

जिल्ला प्रहरी कार्यालय,कालिकोटले जिल्लावासीको घरघरमा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ। प्रहरी र नागरिकबिच प्रत्यक्ष सम्बन्ध कायम गर्न र सूचनाको पहुँच सहज बनाउन यो अभियान प्रहरीले आइतबारबाट सुरु गरेको हो। प्रहरीले जिल्ला सदरमुकाममा रहेका घरमा स्टिकर टाँसेर अभियानको सुरुवात गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालले सुरक्षित कर्णाली विशेष अभियान, २०८० अन्तर्गत जिल्लामा यो कार्यक्रम सुरु गरिएको जानकारी दिए। उनले भने ‘अव घरेलु हिंसा,समुदायमा हुने विभिन्न खालका झैझगडाबाट पीडित जो कसैले प्रहरी कार्यालयको फोन नम्बर घरको ढोकामा टाँसेर नागरिकलाई सहज होस भनेर यो अभियान थालिएको छ। अव जो कोही कसैले न्याय खोज्न अलमलिनु नपर्ने  भएको छ। यो अभियानले मुख्यतया घरेलु हिंसा र पीडितले सजिलै न्यायको बाटोमा जान सक्ने भएकाले यो अभियान निकै प्रभावकारी हुने छ।’

यस अभियानबाट कुनै पनि नागरिकले प्रहरीसँग प्रत्यक्ष रूपमा सम्पर्क गर्ने विश्वास प्रहरीको छ। स्टिकरमा प्रहरीको टोल फ्री नम्बर,सूचना अधिकारीको नम्बर र जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ। नागरिकले कुनै घटना भए सिधा यी नम्बरमा सम्पर्क गरेर प्रहरीलाई जानकारी दिन सक्नेछन्।

छोटो समयमा नागरिकबाट प्रहरीले घटनाको जानकारी पाउँदा समयमै प्रहरी घटनास्थल पुग सहयोग पुग्ने प्रहरी कार्यालयले जनाएको छ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले प्रहरीको यो अभियानले घटनामा कमी आउनुका साथै भएका घटनाको विवरण तत्काल प्रहरीमा पुग्ने विश्वास व्यक्त गरे। उनले प्रहरी र नागरिकको सम्बन्ध नजिक हुने र पीडितले तत्काल सहयोग पाउने विश्वास उनको रहेको छ। प्रमुख जिल्ला अधिकारी माझीले यो अभियानबाट कर्णालीका नागरिक सुरक्षित रहने विश्वास व्यक्त गरे।

प्रहरीले नागरिकको सुरक्षाका लागि राम्रो कामको थालनी भएको स्थानीयको भनाइ छ। यो अभियान कर्णाली प्रदेशको सबै जिल्लाका प्रहरी कार्यालय र प्रहरी चौकीहरूमा समेत सुरु गरिएको छ। यो अभियानले नागरिकलाई प्रहरीको सम्पर्कमा आउन सहज हुने भएको छ। सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यले उक्त अभियान सुरु गरिएको छ।

प्रकाशित: ३१ असार २०८० ०५:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App