समाज

नेपाली टेटे टोली नोएडामा प्रशिक्षण गर्दै

चीनमा आयोजना हुने १९औें एसियाली खेलकुदको तयारीस्वरूप नेपालका टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएका छन्।

आगामी सेप्टेम्बर २३ देखि चीनको हाङझाउ सहरमा नेपालबाट २९ खेलमध्ये टेबल टेनिस टोलीले पनि चुनौती प्रस्तुत गर्दै छ। सोही एसियाली खेलकुदको तयारीका लागि नेपालको टेबल टेनिस टोलीले भारतमा दुई महिने प्रशिक्षण गर्ने भएको हो। महिला र पुरुषतर्पm नेपालका शीर्ष तीन वरीयताका खेलाडीले आगामी जुलाई १८ देखि १९औं एसियाडका लागि तयारी गर्दै छन्। महिलातर्पm नवीना श्रेष्ठ, सिका सुवाल र इभाना थापा तथा पुरुषमा संयोग कपाली र विलास श्रेष्ठ छन्।  

यी खेलाडी एसियाडमा सात विधामा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्नेछन्। भारतमा वैदेशिक प्रशिक्षणमा जान लागेका नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले शुक्रबार लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा बिदाइ गरेका थिए। नेपाली टोलीको प्रशिक्षणमा सञ्जीव ढुंगेल, सन्ध्या साक्य तथा टिम म्यानेजर धर्ममान वज्राचार्य छन्।  

सोही कार्यक्रममा कतारको दोहामा आगामी जुलाई १७ देखि २२ सम्म आयोजना हुने एसियन युथ टेबल टेनिस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने टोलीको बिदाइ गरिएको थियो। उक्त च्याम्पियनसिपमा नेपालले पुरुष र महिलाको सिंगल्स, डबल्स, मिक्स र टिम इभेन्टतर्पm प्रतिस्पर्धा गर्ने राष्ट्रिय टोलीकी प्रशिक्षक सन्ध्या शाक्यले जानकारी दिइन्। पुरुषमा पुजन गडाल, विशाल गोले, गनन्जय दाहाल तथा महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का छन्। मोहनदास वासुकलाको प्रशिक्षणमा रहने उक्त टोलीलाई पनि सोही कार्यक्रममको अवसरमा बिदाइ गरिएको थियो।  

शुक्रबार नै आयोजित उक्त कार्यक्रममा दक्षिण एसियाली युथ च्याम्पियनसिपमा पदक विजेता नेपाली टोलीलाई समान नगद १० हजार रूपैयाँले सम्मान गरिएको थियो। भारतको अरूणाचल प्रदेशस्थित इटानगरमा गत वैशाख ३१ देखि जेठ ४ सम्म आयोजित प्रतियोगितामा नेपाली टोलीले यु–१९ ब्वाइज टिममा एक स्वर्ण, एक यु–१५ गल्र्स डबल्समा रजत र अन्य विधामा ६ कांस्य पदक जितेका थिए। उनीहरूलाई पनि राखेप सदस्यसचिव घिसिङ र संघका अध्यक्ष राजवैद्यले सम्मान गरेका थिए।  

प्रकाशित: ३० असार २०८० ०२:२८ शनिबार

नेपाली टेटे टोली नोएडामा प्रशिक्षण गर्दै