समाज

माइक्रोको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोसित स्थानीय माइक्रोबस जलाए (अपडेट)

पैदलयात्रुको मृत्युपछि आक्रेशित स्थानीयले जनाएको माइक्रोबस । तस्विर: शंकर श्रेष्ठ

धादिङ- धादिङको थाक्रे गाउँपालिका स्थित सिम्लेमा माइक्रोबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ।

                ठक्करबाट सिम्लेकी बन्दना परियार र गंगा थापाको मृत्यु भएको हो । बुटवलबाट काठमाडौं जाँदै गरेको लु १ ज २६७४ नम्बरको माइक्रो बसले सडकको कुना भागबाट हिड्दै गरेकाहरुलाई ठक्कर दिएको हो।

                ठक्करबाट बन्दनाको घटनास्थलमै र गंगाको उपचारको लागि काठमाण्डौ लगिदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए । घटनामा स्थानीय सुस्मा थापा सहित सोही माइक्रोबसमा सवार २ महिला र एक पुरुष पनि घाइते भएका छन्।

                घटनापछि आक्रोसित स्थानीयले  माइक्रोबसमा आगजनी गरेका छन् । तीव्र गतिमा रहेको माइक्रोले पहिले सडक छेउमा रहेको प्याराफिट भाँचेर स्थानीय पैदल यात्रुलाई ठक्कर दिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शी नमिता खतिवडाले भनिन्, ‘ठोकिएपछि माइक्रोबस सडकमै पल्टियो, आक्रोसित भीडले त्यहि आयो लगाए ।’ चालकको लापरबाहिकै कारण दुर्घटना भएको प्रत्यक्षदर्शीहरुले आरोप लगाएका छन् ।

                आक्रोशित स्थानीयहरुको भीडले करिब ४ घण्टा पृथ्वी राजमार्ग अवरुद्ध पारेका थिए । सडक अवरुद्ध भएपछि राजमार्गका दुवैतर्फ सवारी साधनहरुको लाम लागेको थियो । जनपथ प्रहरी, शसस्त्र प्रहरीको टोलीले भीडलाई पन्छाएपछि सवारी सुचारु भएको छ।

 

 

 

 

प्रकाशित: २३ जेष्ठ २०७४ १२:२० मंगलबार

माइक्रोको ठक्करबाट दुई जनाको मृत्यु आक्रोसित स्थानीय माइक्रोबस जलाए अपडेट