समाज

साझा हस्तक्षेपले सुध्रिँदै सवारी

काठमाडौं- तीन वर्षअघि राजधानीमा साझा यातायातका फराकिला बस गुड्न थाल्दा धेरैले सार्वजनिक सवारी सुध्रने सोचेका थिएनन्। निजी व्यवसायीसँग मिलेर काठमाडौं महानगरपालिकाले चलाएको रात्री बस असफल भएकै बेला साझाको सडक आगमनलाई धेरैले विश्वास गरिरहेका थिएनन्।

'रात्री बस जस्तै यो पनि चाडै फेल हुने त होला नि?' सार्वजनिक बसमा यात्रा गर्ने अधिकांशको सोचाई यस्तै थियो। तर, लगनखेल–लैनचौर–महाराजगञ्ज–नयाँ बसपार्क र कलंकी–त्रिपुरेश्वर–नयाँ बानेश्वर–एयरपोर्ट रुटमार्फत पुनर्जन्म पाएको तीन वर्षमै साझाले राजधानीको सार्वजनिक यातायातमा प्रत्यक्ष अनुभव गर्न सकिने परिवर्तन ल्याइदिएको छ।

सुरुमा निजी यातायात व्यवसायीको सिण्डकेट छिचोलेर सडकमा हस्तक्षेप गर्न पुगेको साझाले अहिले तिनै निजी व्यवसायीलाई आफ्नो बाटोमा डोर्‍याइरहेको छ। साझाको आगमनले निजी व्यवसायीको मनस्थिति मात्र परिवर्तन गरेको छैन, यात्रुलाई सास्तीको साटो सुविधा दिने कम्पनीमा समेत रूपान्तरण गरिसकेको छ।

२०६४ सालमा बन्द भएर २०७० सालको सुरुकै दिनदेखि सञ्चालनमा आएको साझा यातायात निजी क्षेत्रको मनोमानी विरुद्धको एउटा सशक्त सामुदायिक हस्तक्षेपको उदाहरण हो। काठमाडौं महानगरपालिकाको सहकार्यमा साझाले सञ्चालनमा ल्याएका सवारीको हस्तक्षेपकै कारण राजधानीमा सार्वजनिक यातायातमा देखिने परिवर्तन आएको छ।

साँघुरा गाडीमा गुन्द्रुकझैं कोचिएर यात्रा गर्न बाध्य सर्वसाधारणले साझाका फराकिला बस रोज्न थालेपछि सिण्डिकेटको भरमा राज गर्दै आएको निजी क्षेत्र पनि यस्तै सुविधायुक्त यातायात सुरु गर्न बाध्य भएको छ। साझाको हस्तक्षेपकै परिणाम हुन्, अहिले राजधानीका विभिन्न रुटमा सुरु भएका ठूला र फराकिला बस।

साझापछि अहिले निजी क्षेत्रबाट पनि उस्तै सुविधायुक्त बस सेवा सुरु भएका छन्। तिनको बिस्तार हँुदै गएको छ। राजधानीका विभिन्न रुटमा हाल महानगर, सिटी मेट्रो, दुप्चेश्वर ओरेन्ज बस, गोकर्णेश्वर, मध्य उपत्यका स्वयम्भूलगायत ठूला बस चल्न थालेका हुन्।

अझै पनि उपत्यकाका अधिंकाश रुटमा माइक्रो, टेप्पो र मिनिबसकै एकाधिकार भए पनि निजी क्षेत्रको ठूला सवारीप्रति बढ्दो लगावले सुधार भने ल्याउँदैछ।

यात्रु भेडाबाख्राजस्तै कोचिएको देख्न नसकेर ठूला बस सञ्चालनमा ल्याएको महानगरका अध्यक्ष मधुसुदन अधिकारी बताउँछन्।  'यातायात व्यवसायी लुट्ने मात्रै हुन् भन्ने गलत धारणालाई परिवर्तन गर्न ठूला बस सञ्चालनमा ल्याएका हौं,' उनी भन्छन्, 'ठूला बस सबै यात्रुको पहिलो रोजाई बन्दै आएका छन्, अहिले पर्खिएर भए पनि यात्रु ठूला बस चढ्छन्।' महानगरले चक्रपथमा ३९ बस चलाइरहेको छ।

साझाको हस्तक्षेपपछि निजी यातायात कम्पनीले ठूला र फराकिला बस मात्र ल्याएका छैनन्, थप सुविधासमेत दिन थालेका छन्। 'हामीले यात्रुलाई सजिलो होस् भनेर जिपिएस ट्रयाकिङको व्यवस्था समेत गरेका छौं,' उनी भन्छन्, 'यात्रुले गाडीमा राखिएको मोनिटरमा बस कहाँ पुग्यो भन्ने हेर्न सक्छन्।' महानगरका बसमा हरेक बस बिसौनी पुगेपछि स्वचालित रूपमा माइकबाट कुन स्थान पुगिएको हो भन्ने जानकारीसमेत दिइन्छ। मोबाइल एप्समार्फत महानगरका गाडी कुन रुटमा कतिबेला पुग्छन् भन्ने समेत हेर्न सकिन्छ। 

साझाको हस्तक्षेकै कारण उपत्यकामा एकपछि अर्काे ठूला बस भित्राउने लहर चलेको छ। यातायात व्यवसायीको एकछत्र रूपमा सिण्डिकेट रहँदा यात्रु मर्कामा थिए। लामो समयदेखि नेपाल यातायातको एकाधिकार रहेको कोटेश्वर–पुतलीसडक खण्डमा सिटी मेट्रो यातायात सुरु भएको छ। यसले नेपाल यातायातको एकाधिकारलाई चुनौती दिनुका साथै यात्रुलाई सहजसमेत बनाएको छ।

सिटी मेट्रोले राजधानीमा १५ अत्याधुनिक सुविधायुक्त ठूला बस सञ्चालनमा ल्याएको छ। ठूला बस ल्याउने अर्को कम्पनी हो–दुप्चेश्वर यातायात प्रालि। यसले उपत्यकामा १० ठूला बस चलाइरहेको छ।

अर्को कम्पनी जय बाबा गोकर्णेश्वरले माकलबारीबाट नारायणटार–गौरीघाट–गौशाला–कोटेश्वर हुँदै चक्रपथ परिक्रममा गर्ने गरी २० बस चलाउन सुरु गरेको छ।

साझा यातायातले हाल उपत्यकामा ४२ बस चलाइरहेको छ। त्यसमध्ये ३० अपाङ्गमैत्री छन्। अपाङ्गले ह्विलचियर नै बसमा राखेर यात्रा गर्न सक्छन्। ह्विलचियर राख्न विशेष पेटीको व्यवस्था छ।

स्थानीयले माग गरेपछि भक्तपुर रुटमा पनि साझाले बस चलाउन थालेको छ। भक्तपुरको रुट अनुमतिका लागि साझाले यातायात व्यवस्था विभागसँग माग गरेकामा उसले नयाँ बाटो हुँदै सूर्यविनायकसम्म चलाउने अनुमति पाएको छ। 'स्थानीयको मागअनुसार सेवा विस्तार गरेका हौं,' साझा यातायातका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले भने, 'अहिले जताततै ठूला बसको माग छ।'

साझाले एउटा रुटका बसमा स्मार्ट ट्राभल कार्डको समेत व्यवस्था गरेको छ।

राजधानीका धेरै रुटमा अहिले पनि साना गाडीमा कोचिएर यात्रु हिँड्नुपर्ने बाध्यता भए पनि साझाको हस्तक्षेपले केही रुटमा भने सजिलो पारिदिएको छ। साझालाई पछ्याउँदै निजी क्षेत्रले ठूला बस सञ्चालन गर्नु सानै हस्तक्षेपले पनि निजी क्षेत्रको मनोमानी रोक्न ठूलो मद्दत गर्न भन्ने उदाहरण हो।

प्रकाशित: २२ जेष्ठ २०७४ ०४:४६ सोमबार

साझा हस्तक्षेपले सुध्रिँदै सवारी