समाज

सप्तकोशीमा खतराको संकेत रातो बत्ती बालियाे

फाइल।

सप्तकोशी नदीमा बिहीबार बिहानदेखि निरन्तर पानीको बहाव बढेपछि अहिले खतराको संकेत रातो बत्ती बालिएको छ। बिहीबार दिउँसो २ बजेको मापन अनुसार पानीको बहाव एक लाख ६७ हजार ४६५ प्रतिसेकेन्ड क्यूसेक पुगेको छ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार अहिले ५६ वटा ढोकामध्ये २२ वटा खुल्ला गरिएको छ। पानीको बहाव थप बढेमा अरु ढोका खोल्न भारतीय पक्षलाई आग्रह गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनायो।

यतिबेला कोशी ब्यारेजको पश्चिमतर्फ रातो बत्ती बालिएको छ। निरन्तर कोसीमा पानीको बहाव बढेपनि अहिलेसम्म खतरा भने छैन।

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति भने खतराको संकेत पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ। कोशी ब्यारेजमा एक लाख ५० हजार क्यूसेकसम्म सामान्य मानिन्छ।

कोशी ब्यारेजमा दुई लाख काटनेवितिकै पूर्वतर्फ खतराको अर्को रातो बत्ती बालिने गरिन्छ। पानीको बहाव तीन लाख काटनासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

कोशी ब्यारेज बन्दा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता हुने उल्लेख छ। तर, ब्यारेजभन्दा माथिल्लो भागमा बालुवा थुप्रिनु र पछिल्ला बर्षमा पानीको बहाव चार लाखभन्दा मुनी नै रहेकाले गर्दा कुनै अनुमान लगाउन सक्ने अवस्था छैन।

कोशी ब्यारेजको कुल भारवहन क्षमता ९ लाख क्यूसेक छ। पछिल्लो २० वर्षयताको तथ्याङ्क हेर्दा सप्तकोसीमा चार लाख क्यूसेकभन्दा माथि पानी बढेको छैन। सन् २००० देखि अहिलेसम्म चार लाख क्यूसेकभन्दा माथि पानी नबढेको कोशी ब्यारेज कन्ट्रोल रुमको रकेर्डमा छ।

सप्तकोसी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी सन् १९६८ मा सात लाख ८८ हजार २०० क्यूसेक पुगेको थियो। सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्यूसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोसी नदीले झन्डै आठ लाख क्यूसेक पानीको क्षमता धाने पनि त्यसपछिका वर्षहरुमा पानीको लेभल घट्दै गएको पाइन्छ। पछिल्लो समय कोशी ब्यारेज भन्दा माथिल्लो भागमा बालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ।

२०६५ भदौ–२ गते एक लाख ६८ हजार क्यूसेक पानीको बहाव हुँदा सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। त्यतिबेला कोशीले पूर्वी तटबन्ध भत्काउँदा कोसी गाउँपालिकाका चारवटा मानववस्तीमा पसेको  थियो। त्यतिबेला सप्तकोसी नदीले पूर्वी तटबन्ध भत्काउँदा ७ हजार ५ सय ६३ परिवार विस्थापित भएका थिए।

२०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काउँदै धार परिवर्तन गरेकोमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो। एक पटक पूर्वी तटबन्ध भत्काएर पुन पुरानै अवस्थामा फर्काए पनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्छ। सप्तकोसीको बाढीबाट हुने विनासलिला नेपालमा मात्र सीमित हुर्दैन। भारतको बिहारमा बर्षेनी कोसीको बाढीले पुग्ने धनजनको क्षति कम छैन।

प्रकाशित: २८ असार २०८० ०९:५९ बिहीबार