समाज

योजनाको मूल्यांकन कम गरेको भन्दै इन्जिनियरमाथि कुटपिट

पूर्वाधार कार्यालय मुगुका प्रमुखमाथि आक्रमण (कुटपिट) भएको घटना सेलाउन नपाउँदै फेरी रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिकाका इन्जिनियर रेशम लम्सालमाथि कुटपिट भएको छ। स्थानीय सिम्ली बजारमै इन्जिनियर लम्सालमाथि बुधबार विहान कुटपिट भएको हो।

योजनाको मूल्यांकन कम गरेको भन्दै सानीभेरी गाउँपालिका –३ घर भएका ठेकेदार तथा रुकुम (पश्चिम)का वाईसियल नेता गोविन्द ओलीले कुटपिट गरेका हुन्। लम्साल खाना खाएर कार्यालय तर्फ जाँदै गरेको बेला कुटपिट भएको हो। इन्जिनियर लम्सालले आफूलाई ओलीले पहिलेदेखि नै थक्काउने गरेको र बुधबार कुटपिट गरेको बताए। एक्कासी मूल्याकंन घटाउने भनेर आक्रमणमा ओली उत्रिएको लम्सालले भनाइ छ। ओलीले टाउकोमा तीन मुक्का र पेटमा लात्ती हानेर सडकमा लडाएका थिए। प्रत्यक्षदशीका अनुसार ओलीले धेरै पटक आक्रमण गरेका थिए तर लम्सालले छेकेका कारण धेरै चोट लाग्न पाएको थिएन्।

सानीभेरी गाउँपालिका –३ को बेल्टापु रंगशाला निर्माण समितिका अध्यक्ष ओलीले कम मुल्याकंन गरेको भन्ने विषयलाई लिएर इन्जिनियर लम्सालमाथि कुटपिट भएकोे सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले जानकारी दिए। ‘इन्जिनियरमाथि भएको आक्रमणको घटना दुःखद हो।’ प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले नागरिकसंग भने, ‘गाउँपालिका मार्फत निवेदन दिएपछि आवश्यक कार्वाहीका लागि प्रहरीले थुनामा राखेको छ।’

ओलीलाई प्रहरी चौकी सिम्लीले नियन्त्रणमा लिएको छ। कुटपिट गर्ने ओली नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसियल नेपाल रुकुम (पश्चिम)का जिल्ला संयोजक हुन्।

त्यस्तै यसअघि असार २३ गते पूर्व कर्णाली प्रदेशसभा सदस्य दानसिंह परिवार र मुगुको छायाँनाथ रारा नगरपालिका –६ का वडाअध्यक्ष खेमबहादुर रावलले पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख इन्जिनियर दत्त बुडथापालाई कुटपिट गरे।  पूर्वाधार विकास कार्यालय मुगुका  प्रमुख बुढथापामाथि संसद विकास कोषअन्र्तगत सञ्चालित दुई वटा योजनाको  बजेटमा पुरै रकम भूक्तानी नदिएको भन्दै कार्यकक्षमै कुटपिट गरेका हुन्। ४० लाख र ५० लाखका दुई वटा सडक योजना रहेका थिए। आवश्यक कार्वाहीका लागि प्रहरीले दुवै जनालाई पक्राउ गरी थुनामा राखेको छ।  

प्रकाशित: २७ असार २०८० ११:५६ बुधबार

पूर्वाधार कार्यालय मुगु सानीभेरी गाउँपालिका