समाज

सीता दाहाललाई प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ।

दाहालको पार्थिव शरीरमा श्रीमान दाहालसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन्।

बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार उनको अन्तिम बिदाइ गरिएको छ।

उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो। त्यहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले श्रद्धाञ्जली दिएका थिए।

यस्तै विभिन्न दलका शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

आजै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सीतालाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।

सीतालाई नेपाली सेनाको टुकडीले राजकीय सम्मान दिएको थियो। उनको शवलाई नेपालको राष्ट्रिय झण्डा ओढाइएको थियो।

आज बिहान सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन्। उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो। दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत थिइन्।

प्रकाशित: २७ असार २०८० ०९:५३ बुधबार

सीता दाहाल