समाज

न्यायाधीश पराजुलीविरुद्ध रिट

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीविरुद्ध बुधबार सर्वोच्चमै रिट दर्ता भएको छ। भावी प्रधानन्यायाधीशको सूचीमा रहेका पराजुलीको शैक्षिक योग्यता र जन्ममितिका विषयमा प्रश्न उठाउँदै रिट दर्ता भएको हो।

न्यायाधीश पराजुलीको एसएलसी शैक्षिक योग्यताबारे सम्बद्ध कागजात झिकाई छानबिन गरी टुंगोमा पुर्‍याउन विपक्षी न्यायपरिषद्का नाउँमा परमादेश जारी गर्न माग।

अधिवक्ता विकास गिरीले संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संसदीय सुनुवाइ विशेष समिति, संसद् सचिवालय, राष्ट्रपतिको कार्यालय, न्यायपरिषद् र न्यायाधीश पराजुलीलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन्।

प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकाल सकिन एक साता बाँकी छ। जेठ २४ मा प्रधानन्यायाधीश कार्कीको कार्यकाल सकिन्छ। उनीपछि वरिष्ठता क्रममा पराजुली छन्। सर्वोच्चमा वरिष्ठलाई नै प्रधानन्यायाधीश बनाउने परम्परा छ।

'न्यायाधीश पराजुलीको उमेर र शैक्षिक योग्यता, नैतिक चरित्र, इमानदारीमा प्रश्न उठिरहेको भन्दै सो विषयको टुंगो नलागेसम्म प्रधानन्यायाधीश पदमा नियुक्तिको सिफारिस नगर्नू भन्ने प्रतिषेधको आदेश' रिट निवेदकले माग गरेका छन्।

'न्यायाधीश पराजुलीले २०३० साउन २१ मा लिएको नागरिकताको प्रमाणपत्रमा २१ वर्ष उल्लेख भएको र न्यायपरिषद्बाट प्रकाशित विभिन्न वर्षका बुलेटिनबाट निजको जन्ममिति २००९ साउन २१ नै उल्लेख देखिँदा न्यायपरिषद् ऐन, २०७३ को दफा ३१ बमोजिम २०७४ साउन २१ मा अवकाश हुने मिति कायम गरी अवकाश हुने जानकारी दिन न्यायपरिषद्का नाउँमा परमादेश जारी गरिपाऊँ', रिटमा माग गरिएको छ।

विवादित विषय टुंगो नलागेसम्म पराजुलीलाई प्रधानन्यायाधीश पदका लागि सिफारिस नगर्नू, अनुमोदन नगर्नू, नियुक्त नगर्नू, शपथ नखुवाउनू भनी विपक्षीका नाममा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४१ (१) बमोजिम अन्तरिम आदेश जारी गर्न समेत रिट निवेदकले माग गरेका छन्।

'प्रधानन्यायाधीशजस्तो सर्वोच्च पदमा नियुक्त हुने गम्भीर प्रकृतिको सार्वजनिक सरोकारको विषय भएकाले विवादको अन्तिम टुंगो नलाग्दासम्म पराजुलीलाई प्रधानन्यायाधीश पदका लागि सिफारिस नगर्न अन्तरिम आदेश जारी गरिपाऊँ', रिटमा भनिएको छ।

न्यायाधीश पराजुलीको एसएलसी शैक्षिक योग्यताबारे सम्बद्ध कागजात झिकाई छानबिन गरी टुंगोमा पुर्‍याउन विपक्षी न्यायपरिषद्का नाउँमा परमादेश जारी गर्न माग गरिएको छ। रिटमा बिहीबारका लागि पेसी तोकिएको सर्वोच्चले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:५३ बिहीबार

न्यायाधीश पराजुलीविरुद्ध रिट