डिभिजन वन कार्यालय ताप्लेजुङले चालू आर्थिक वर्ष २०७९।०८० को वार्षिक स्वीकृत कार्यक्रममा भौतिक र वित्तीय दुबैतर्फ सत प्रतिशत प्रगति गरेको जनाएको छ।तलब भत्ता बाहेक २ करोड ३४ लाख ६ हजार रुपैयाँ बजेट रहेको कार्यालयले १७ लाख ५२ हजार रुपैयाँ बजेट भने सर्मपण गरिएको जनाएको छ ।
सहायक वन अधिकृत प्रमेश्वर पासवानका अनुसार प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमको १२ लाख ४२ हजार,राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमको १ लाख ५ हजार र जडिबुटी विकास कार्यक्रमको ४ लाख रुपैयाँ बजेट सर्मपण गरिएको छ । प्रदेश वन विकास तथा व्यवस्थापन कार्यक्रमको १ करोड ३९ लाख ४ हजार,प्रदेश हरित अभियान कार्यक्रमको ३२ लाख ४ हजार, राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमको ७ लाख ८ हजार,डिभिजन वन कार्यालयका लागि विनियोजित ३० लाख,जडिबुटी विकास कार्यक्रमको १० लाख र वातावरण संरक्षण कार्यक्रमको ५ लाख रकममा भने भौतिक र वित्तीय दुवैतर्फको प्रगति सत प्रतिशत रहेको सहायक वन अधिकृत ललितकुमार यादवले जानकारी दिए । कार्यालयले प्रदेश वन विकास कार्यक्रम अन्तर्गत सामुदायिक वनमा उद्यमशीलता अभिवृद्धि कार्यक्रम,सामुदायिक वनमा अभिलेख सुरक्षण तालिम,वन मुद्दा अनुसन्धान तथा जाहेरी जस्ता क्रियाकलाप सञ्चालन भएका थिए ।
प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत एकबर्षे एक लाख वटा बिरुवा उत्पादन गरिएको समेत डिभिजन वन कार्यालयले जनाएको छ । यस्तै बिरुवा पुर्न रोपण र गोडमेल कार्यक्रम,कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रममार्फत १० जना किसानलाई एक लाख रुपैयाँका दरले अनुदान वितरण कार्यक्रम सञ्चालन भएका थिए । राष्ट्रिय वन विकास कार्यक्रम अन्तर्गत गुराँस पार्कका लागि तार वार र वृक्षारोपण गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत मयुरपंखी लगायत सौन्दर्यवद्र्धक ३० हजार बहुबर्षे बिरुवा उत्पादन गरिएको समेत वन कार्यालयले जनाएको छ । यहीँ कार्यक्रममार्फत मानव–वन्यजन्तु न्यूनीकरण अभियान सञ्चालन गरिएको थियो भने वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सामाग्री सहयोग,नर्सरी मर्मत कार्यक्रम सञ्चालन गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
वातावरण संरक्षण कार्यक्रम अन्तर्गत विद्यालय वातावरण सुधार कार्यक्रम,दराज सहितको वन तथा वातावरण संरक्षण अभियान केन्द्रित पाठ्य सामाग्री वितरण,समुदाय–विद्यालयमा आधारित जैविक विविधता दिवस,अभिमुखीकरणमूलक विश्व वातावरण दिवस सञ्चालन गरिएको थियो । जडिबुटी विकास कार्यक्रम अन्तर्गत ओखरका बिरुवा वितरण,सामुदायिक वनमा लोक्ता अर्गेली रोपण र प्रसारण कार्यक्रम सञ्चालन गरिएको वन कार्यालयले जनाएको छ ।
यस्तै दोभान सवडिभिजन कार्यालयको भवन तथा वाल निर्माण समेत चालू आवमा सम्पन्न भएको सहायक वन अधिकृत यादवले जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ,कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत दीपेन्द्र पोखरेल,सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष सुरज ओझा सहितको दिगो वन व्यवस्थापन र वन संरक्षणका बिभिन्न आयामबारे सुझाव राखेका थिए ।
प्रकाशित: २६ असार २०८० १२:३२ मंगलबार