समाज

चर्को दबाबपछि चितवन बन्द फिर्ता

चितवन- भरतपुरमा रोकिएको मत गणना सुरु गर्न माग गर्दै नेकपा (एमाले) चितवनले आज बिहीबारका लागि आह्वान गरेको चितवन बन्द फिर्ता भएको छ। मध्यरातमा मतपत्र च्यातिएपछि गएको आइतबार रातिदेखि भरतपुरको मत गणना स्थगित छ। एमालेले तत्काल मत गणना सुरु गर्न भनेको छ भने माओवादी र काँग्रेसले मतपत्र च्यातिएको भरतपुर वडा नं. १९ मा फेरि मतदान गराउन माग गरेको छ।

मतगणना कार्य सुरु नगरेर फेरि मतदान गराउने षड्यन्त्र हुन लागेको भन्दै एमाले चितवनले मतगणना सुरु गर्न सरकार र निर्वाचन आयोगलाई दवाव दिन भन्दै बन्द आह्वान गरेको थियो। सो समाचार सार्वजनिक भए लगत्तै  सामाजिक सञ्जालहरुमा बन्दको चर्को विरोध भएको थियो। बुधबार साँझ एमालेले नारायणगढमा मसाल जुलुसमेत निकाल्यो। तर राति 'जनभावनाको कदर गर्न' भन्दै बन्द फिर्ता लिएको छ। बन्द बाहेकका दबाबमूलक कार्यक्रमहरु भने जारी नै राख्ने एमालेको भनाइ छ।

निर्वाचन आयोगले भरतपुरको मतगणनाका सम्बन्धमा बुधबार निर्णय लिन सक्ने सम्भावना थियो। तर आयोग हिजो नै अन्तिम निचोडमा पुग्न सकेन। च्यातिएका मतपत्रहरु के कति हुन एकीन गरेर पठाउनु भन्दै भरतपुरका मुख्य निर्वाचन अधिकृतलाई थप निर्देशन दिएको छ। भरतपुरको मत गणना अन्तिम चरणमा पुग्दै गर्दा मतपत्र च्यातिएको हो। २९ वटा वडाहरु रहेको भरतपुरमा २७ वटा वडाहरुको परिणाम सार्वजनिक भइसकेको छ।

वडा नं. १९ को गणना भइरहँदा मेयर पदमा एमालेका उम्मेद्वार देवीप्रसाद ज्ञवाली सत्तारुढ दल काँग्रेस माओवादी गठबन्दनबाट मेयर पदमा उम्मेद्वार रहेकी रेणु दाहालभन्दा केही मतले अगाडी थिए। झिनो मतले नै भए पनि देवी ज्ञवालीले जित्ने सम्भावना कायमै रहेका बेलामा मतपत्र च्यातिएको हो। मतपत्र च्यातेको आरोपमा चितवन प्रहरीले माओवादी केन्द्रका दुईजना गणना प्रतिनिधिलाई समाएको छ। तर माओवादीले मतपत्र च्यातेको स्वीकार गरेको छैन।

प्रकाशित: १८ जेष्ठ २०७४ ०२:२४ बिहीबार

चर्को दबाबपछि चितवन