समाज

सात हजार घण्टा उडेका पाइलट चेतबहादुर सोलुमा अस्ताए

मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। नेपाली आकासमा उनले झण्डै सात हजार घण्टा हेलिकप्टर उडाएका थिए।

यसअघिको एउटा दुर्घटनामा बाच्न सफल गुरुङ मंगलबारको दुर्घटनामा भने सधैका लागि अस्ताएका छन्। कास्कीको पोखरामा घर भएका उनको जिवन सोलुखुम्बुमा अस्ताएको छ।

त्यसो त उनीसँगै हेलिकप्टरमा सवार मेक्सिकोका नागरिकहरु सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक थिए।  

उडेको केही समयमै सम्पर्कविहीन भएको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामजुरामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी हेलिकप्टरमा सवार सबै ६ जनाको मृत्यु भएको छ।

५५ वर्षीय गुरूङ अनुभवी पाइलट मानिन्थ्ये। उनी सन् २०१४ देखि मनाङ एयरमा आवद्ध थिए। मनाङ एयरका उडान सुरक्षा प्रवन्धक राजु न्यौपाने गुरूङ यो उडान उनको नियमित भएको बताउँछन्।

न्यौपाने भन्छन्, ‘पाइलट चेतबहादुर गुरूङ सन २०१४ देखि मनाङ एयरमा आवद्ध भएका हुन्। त्यो भन्दा अगाडि सन् १९९७/९८ देखि उनी निरन्तर उडानमा थिए। ५५ वर्षीय गुरूङ अनुभवी पाइलट थिए।’

मनाङ एयरमा आउनु भन्दा पहिले गुरूङ एमआइसेभेन्टिन हेलीकप्टर, गोर्खा एरलाइन्स, श्री एरलाइन्समा उडान गरेका थिए। श्री एरलाइन्समा हुँदा गुरूङले विदेशी उडान समेत गरेको न्यौपानेले जानकारी दिए।

‘गुरूङ सुरक्षामा बढी ध्यान दिन्थ्ये, कसैलाई छकाउने खालका थिएनन् गुरूङको छोरो । सोझो, भलाद्मी थिए। जाड रक्सी खाने यता उती गर्ने खालका थिएनन्। दुर्घटना हो, गर्दागर्दै हुन्छ। के कारणले भयो भन्ने कुरा पछि आउला,’ न्यौपानेले भने।

कास्की जिल्लाको पोखरा घर भएका गुरूङ काठमाडौंको भैसेपाटीमा बस्दै आएका थिए।  

प्रकाशित: २६ असार २०८० १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App