समाज

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली कर्णेल पक्राउ

रौतहट- सेनामा जागिर लगाइदिन्छु भनी ठगी गर्दै हिँड्ने एकजना प्रहरीको फन्दामा परेका छन्। मकवानपुरको हेटौँडा व्यारेकमा कर्णेल रहेको बताउने हिमाल मल्ल भन्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनमा ठगी मुद्दाको खोजीमा रहेका मल्ललाई सोमवार राती गरुडा प्रहरीले पक्राउ गरेको हो।

यस अघि सेनामा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग प्रति व्यक्ति दुई लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा प्रहरीले चितवन माडी नगरपालिका ८ का ३२ वर्षीय विष्णु बहादुर सुनारलाई पक्राउ गरेको थियो। सुनारमाथि ठगी मुदाको अनुसन्धान गर्दै जाँदा उनले ६ लाख भन्दा बढी रकम उठाएको स्वीकार गर्दै आफूले उठाएको मध्ये चार लाख असी हजार रुपैयाँ हिमाल मल्ललाई दिएको बयानको आधारमा चितवन प्रहरीको खोजीमा रहेका मल्ल रौतहटमा पक्राउ परेका हुन्।

सुनारले उपलब्ध गराएको मल्लको मोबाइल नम्बर ९८५५०४७०४२ मा जिल्ला प्रहरी कार्यालय चितवनले सम्पर्क गर्दा निजले आफ्नो नाम शंकर भुजेल बताएको र आफू हेटौँडा व्यारेकमा मेजर पदमा कार्यरत रहेको बताएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपि दीपक श्रेष्ठले बताए।

सोमवार साँझ पक्राउ परेका नक्कली कर्णेललाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिनुअघि एकजना इँटा व्यावसायीलाई आफू नेपाली सेनाको कर्णेल भएको बताएका थिए। आफूलाई कर्णेल भएको बताउँदै हिँड्ने मल्ललाई प्रहरीले सोधपुछ गर्दा आफ्नो दर्जनौँ नाम भएको खुलासा गरेका छन्।

प्रकाशित: १६ जेष्ठ २०७४ ०९:४३ मंगलबार

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने नक्कली कर्णेल पक्राउ