समाज

सरुवा रोग अस्पताल सार्ने ‘षडयन्त्र’ रोक्न ज्ञापन पत्र

कालिकोट जिल्लामा दुई वर्षदेखि सेवा दिँदै आएको सरुवा रोग अस्पताल अन्यत्र जिल्लामा सार्ने ‘षडयन्त्र’ रोक्न र उचित बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेस गरिएको छ।

चे फेर्स नेपाल कालिकोटका ब्रिगेड कमान्डर हिक्मतजंग मल्ल र डेप्योटी ब्रिगेड कमान्डर सुनिल शाहीले कालिकोट जिल्लामा सेवा दिँदै आएको सरुवा रोग अस्पताललाई अन्यत्र सार्ने षडयन्त्र रोक्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत मुख्यमन्त्री कार्यालयमा ज्ञापन पत्र पठाएका हुन्।

ज्ञापन पत्रमा स्वास्थ्य क्षेत्रमा कालिकोट जिल्लाको स्तर र आम जनताको पहुँचबाट दिनानुदिन टाढा भइरहँदा प्रदेश सरकारले सरुवा रोग अस्पतालले एक आयाम थपेको उल्लेख गरिएको छ।

साविक कर्णाली अञ्चलका पाँच वटै जिल्ला सहित कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका अछाम र बाजुरा जिल्लालाई समेत स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था भइरहँदा यस वर्ष बजेट व्यवस्थापन नगरिनु सङ्घीयता विरोधीको उपज भएको उल्लेख छ।

प्रदेश सरुवा रोग अस्पतालमा वरिष्ठ जनरल फिजिसियन १ जना, मेडिकल अधिकृत १ जना सहित २१ ज्नाको दरवन्दि रहेको अस्पताललाई अझ प्रविधिमैत्री र आधुनिकीकरण सहितको व्यवस्थापन गर्नका लागि हामी आग्रह गर्दछौं भनी माग गरिएको छ। 

कालिकोट जस्तो जिल्लामा अझैपनी स्वास्थ्यको पहुँच नपुगी ज्यान जाने अवस्थाले गर्दा यो राज्य व्यवस्था असफलता तिर उन्मुख छ। यस सरुवा रोग अस्पताललाई कालिकोट जिल्लामा नै व्यवस्था गरी उचित बजेटको समेत पहल गर्न चे फोर्स नेपालले माग गरेको छ।

ज्ञापन पत्रमा सरुवा रोग अस्पताल अन्त्र सारिए आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ। आइतबार जिल्लमा सरोकारवालले पनि यस विषयमा सरुवा रोग अस्पताल अन्त्र सार्न नहुने धारण राखेका थिए।

प्रकाशित: २५ असार २०८० ०९:५७ सोमबार