समाज

कर्णाली छिचोल्न दुई किलोमिटर बाँकी

हुम्लाको स्याल्तडीदेखि लालीबगरसम्म सेनाले निर्माण गरिरहेको सडक। तस्बिर: नागरिक

कर्णाली समृद्धि मार्गका रूपमा हेरिएको कर्णाली करिडोर ट्र्याक खुल्न साढे दुई किलोमिटर बाँकी छ। नेपाली सेनाले हुम्लाको स्याल्तडीदेखि लालीबगरसम्मको ११ किलोमिटर खण्डमा काम गरिरहेको छ। सेनाले ११ मध्ये साढे आठ किलोमिटर कडा चट्टान फोडेर सडक निर्माण गरिसकेको छ।

बाँकी साढे दुई किलोमिटर ट्र्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थल मार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिनेछ। सेनाले काम गरिरहेको अहिलेको खण्डमा भौतिक प्रगति ७० प्रतिशत छ। असार मसान्तसम्म अझै भौतिक प्रगति बढ्नेछ। आउने दसैंसम्म सडक छिचोल्ने लक्ष्य सेनाको छ। ‘अब आगामी आर्थिक वर्षमा बाँकी रहेको साढे दुई किलोमिटर कडा चट्टान छिचोल्छौं,’नेपाली सेनाको सडक निर्माण कार्यदलका प्रमुख सेनानी अनुप पोखरेलले भने, ‘लक्ष्यभन्दा राम्रो प्रगति भइरहेकाले सरकारले दिएको समयअगावै ट्र्याक खुल्ने सम्भावना छ।’

कर्णाली करिडोर कालीकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ। सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधन सञ्चालन भइरहेका छन्। हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन्। साढे दुई किलोमिटर सडकको ट्र्याक खुलेसँगै हुम्ला जिल्ला पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो। संघीय सरकारले उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोरअन्तर्गतको दुल्लीकुना–लालीबगर खण्ड निर्माणको जिम्मा दुई वर्षअघि नेपाली सेनालाई दिएको थियो। सेनाले जिम्मा लिएसँगै सडक निर्माण तीव्र गतिमा भइरहेको हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले बताए।  

‘दसैंसम्म प्रदेश राजधानी सुर्खेतबाट चीनसँगको सिमा हिल्सासम्म मोटर चल्ने विश्वास पलाएको छ’,उनले भने, ‘कर्णाली र सुदूरपश्चिमको समृद्धिसँग जोडिएको सडकमा हामी सबैको चिन्ता र चासो छ।’अघिल्लो वर्ष साउनमा सेनाले कर्णाली करिडोरअन्तर्गतको खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण गरी सडक विभागलाई हस्तान्तरण गरेको थियो।

कर्णाली करिडोरअन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दुरी २६७.७५ किलोमिटर छ। त्योमध्ये सबैभन्दा धेरै अप्ठेरो भूभागको १२२.७५ किलोमिटर सडक निर्माण जिम्मा सरकारले २०७१ चैत ५ गते नेपाली सेनालाई दिएको थियो। सल्लीसल्लादेखि सिमकोटसम्मको ५१ किलोमिटर खण्डमध्ये बाँकी खण्डमा ट्याक खुलिसकेको छ। हुम्ला सदरमुकाम सिमकोटदेखि हिल्सासम्मको ९४ किलोमिटर सडक सञ्चालनमा छ।

कर्णाली करिडोर भारत र चीन जोड्ने त्रिदेशीय सडक हो। भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँकेअन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी ६८२ किलोमिटर छ। यो सडक जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट हिल्सा पुग्न ४१० किलोमिटर पार गर्नुपर्छ।

प्रदेश सरकारको आग्रहमा चीनको चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीले गरेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा वीरेन्द्रनगरको धुलियाविटदेखि हिल्सा नाकासम्मको दुरी ४०३.५२ किलोमिटर हुने उल्लेख छ। प्रतिवेदनअनुसार सुर्खेत खण्ड २४.१, दैलेख खण्ड १०४.६, कालिकोट खण्ड ३९.१४, सुदूरपश्चिमको बाजुरा खण्ड ४३.४९ र हुम्ला खण्ड १९२.१९ किलोमिटरको हुने उल्लेख छ। संघीय सरकारले आगामी आर्थिक वर्षका लागि कर्णाली करिडोर सुधारका लागि ९७ करोड रूपैयाँ छुट्याएको छ।

कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन। त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थलमार्गबाट जोडिनु कर्णालीका लागि महत्वपूर्ण छ। कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार हुनुका साथै मानासरोवर यात्रा गर्नेका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा कम दुरीको हुन्छ। कर्णाली प्रदेश सरकारले उत्तरसँगको मुख्य नाका हिल्सासम्म सडक पुर्याउन यसको नाम ‘प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग’ राखेको छ।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले संघीय सरकारसँगै आवश्यक परेको ठाउँमा प्रदेशबाट बजेट दिइने बताए। ‘संघीय संरचनासँगै हामीले उत्तरतर्फका सडकलाई पहिलो प्राथमिकतामा राखेका छौं’,उनले भने, ‘अझ कर्णाली करिडोर कर्णालीको भाग्य र भविष्यसँग जोडिएकाले आवश्यक ठाउँमा प्रदेशबाटै बजेटको व्यवस्थापन गर्छाै।’

प्रकाशित: २४ असार २०८० ०१:०१ आइतबार

कर्णाली छिचोल्न दुई किलोमिटर बाँकी