समाज

‘लम्पी स्किन’ ले गाई भैँसी मर्न थालेपछि किसानलाई सकस

देशभर फैलिएको ‘लम्पी स्किन’ को असर जुम्ला सहित कर्णालीका विभिन्न जिल्लाहरुमा पनि देखा परेको छ।

‘लम्पी स्किन’ को प्रत्यक्ष असर यहाँ दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको यहाँका किसानहरुले बताएका छन्।

रोगका कारण दुहुना गाई र भैँसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको छ।

स्थानीय तहहरुले रोग नियन्त्रणका लागि गाउँ-गाउँमा प्राविधिक परिचालन गरिरहेको भने पनि रोग नियन्त्रण हुन सकेको छैन। विगत तीन महिनादेखि रोग देखा परे पनि हालसम्म यसको सङ्क्रमण बढ्दो नै छ। रोग नियन्त्रण बाहिर गएकोले धेरै पशु चौपाया मर्न थालेका छन्।

जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभिडका ७५ वर्षीय रामदत्त देवकोटाले लम्पी स्किन रोगका कारण लैनो भैँसी र गोरु गुमाउनु परेको सुनाए।

भैँसीको दूध बेचेरै घर खर्च चलाउँदै आएका उनलाई अहिले घर खर्च कसरी चलाउने हो भन्ने पिरलो छ।

'घरमा दैनिक ७–८ लिटर दूध उत्पादन हुन्थ्यो। बजारमा दूध बिक्री गर्दै आएको थिए। तर, असारको १८ गते लैनो भैँसी मरेपछि बेखर्ची भएको छ। चराउन लागेको भैँसी एक्कासि मर्‍यो।  रोगकै कारण लैनो भैँसी गुमाउनु पर्‍यो।' उनले गुनासो गरे।

५८ हजार रुपियाँ हालेर किनेको लैनो भैँसी गुमाएका उनले कसरी घर खर्च चलाउन समस्या भएको बताए। यही रोगका कारण जोत्ने गोरु समेत मरेको उनको जनाए। गाई भैँसीको बिमा गर्ने कार्यक्रम जुम्लामा लागू भए पनि आफूले बिमा नगरेको उनी बत्ताउँछन्।

तिला गाउँपालिका–८ जुम्लाकोटका धनलाल बस्नेतका अनुसार लम्पी स्किन रोगका कारण उनको एक हल गोरु (दुई बल्ल) मरे। यो रोगले गाउँघरमा पशु चौपायामा भयाभय रूप लिएको छ।

रोग नियन्त्रण तथा रोकथाममा सरोकारवाला निकाय बेखबर हुँदा उनीजस्तै धेरै पशु पालक कृषक लम्पी स्किन रोग जिल्लामा फैलिएको खबरले चिन्तित छन्। 

जुम्लामा १२ हजार २ सय २९ पशुमा यो रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाले जनाएको छ। कार्यालयका अनुसार हालसम्म ३४ गाई गोरु मरेका छन्। सङ्क्रमितमध्ये १ हजार ७ पशुको मात्रै उपचार गरिएको कार्यालयले जनाएको छ।

जुम्लाका ८ वटै स्थानीय तहका ६० वटै वडामा लम्पी स्किन रोग फैलिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।

पशु सेवा कार्यालय, जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाका अनुसार पशु प्राविधिकहरू गाउँ बस्तीमा खटिएर रोकथामको प्रयत्न गरिरहेका छन्।

'रोग नलाग्दै अगाडि रोकथाम गर्नुपर्ने हो। त्यो बेला मन्त्रालयले खोप पठाएन। अहिले नियन्त्रणभन्दा बाहिर गइसकेको छ। यहाँ भएको केही खोप स्थानीय तहमा पठाएको छु।,'प्रमुख बुढ्थापाले भने, '६ हजार डोज खोप माग गरेको छु। प्राप्त भएको छैन। असार मसान्तमा सबै बजेट खर्च भएको बेलामा यो रोग फैलियो। यो विषयमा पनि स्थानीय तहका जनप्रतिनिधिसँग कुरा भइरहेको छ। आपत्कालीन कोषबाट यसको रोकथाम र उपचारका लागि मन्त्रालयदेखि स्थानीय तहसम्म समन्वय भइरहेको छ।' उनले भने।

लम्पी स्किन गाई भैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने र दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठा देखिन्छ। गिर्खा केही समयपछि हराउने वा कहिलेकाहीँ गिर्खा फुटेर घाउ हुने, किरा र औँसा पर्ने, नाक मुखभित्र, कल्चौँडा, थुनमा घाउ हुने, आँसु, र्‍याल, सिँगान बग्ने, चिप्रा कचेरा लाग्ने, खुट्टा जोर्नी सुन्निनेजस्ता लक्षणहरू देखा पर्छ।

कर्णालीमा मात्र यस रोगका कारण सात हजार बढी पशु चौपायाको मृत्यु भइसकेको छ। कर्णालीका १० वटै जिल्लामा महामारीका रुपमा फैलिएको यो रोगबाट ७ हजार ६ सय ३२ पशु चौपाया मरेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार लम्पी स्किन रोगबाट सबैभन्दा धेरै जाजरकोट प्रभावित देखिएको छ। जाजरकोटमा २ हजार ४ सय ३० पशु चौपाया मरेको मन्त्रालयका निमित्त सचिव राजु भुजले बताए। उनका अनुसार जाजरकोटमा बाछाबाछी ३ सय ६५, गाई ५ सय २५, गोरु १ हजार ४ सय ९५ र भैँसी ४६ वटा मरेका छन्।

यस्तै रुकुम पश्चिममा ४ सय ५७ गोरु र ११ भैँसी गरी ४ सय ६८, सल्यानमा ९५ बाछा बाछी, १ सय ९५ गाई, ६ सय ३१ गोरु र ९२ भैँसी गरी १ हजार १३ मरेका छन्।

सुर्खेतमा २ सय ६१ बाछा बाछी, २ सय ६९ गाई, ४ सय ४ गोरु र ९४ भैँसी गरी १ हजार २८ पशु चौपाया मरेका छन्।

यस्तै दैलेखमा १ सय १५ बाछाबाछी, ६४ गाई, २ सय ९२ गोरु र तीन भैँसी गरी ४ सय ७४, कालिकोटमा बाछा बाछी ८०, गाई १ सय ९७, गोरु २ सय ५० र तीन वटा भैँसी गरी ५ सय ३०, मुगुमा ५९ बाछा बाछी ३६, डोल्पामा १९ बाछाबाछी, गाई ४० र २६ गोरु गरी १ सय २१, ४१ गोरु र दुई चौरी गरी १ सय दुई र हुम्लामा २ सय ५३ बाछा बाछी, ५ सय ४५ गाई, ६ सय ६८ गोरु गरी १ हजार ४ सय ६६ पशु चौपाया मरेका छन्।

मन्त्रालयका अनुसार प्रदेश भर सङ्क्रमित पशुको सङ्ख्या २ लाख ७ हजार २ सय ७३ रहेको छ। जसमा बाछा बाछी ४२ हजार ५ सय ६, गाई ४५ हजार १ सय ३०, गोरु १ लाख १६ हजार ४ सय, भैँसी २ हजार ३ सय ९१ र चौरी २ सय ८२ वटा रहेका छन्।

सङ्क्रमित मध्ये एक लाख २५ हजार ९१ पशु चौपायाको उपचार गरिएको छ भने ९ हजार ९ सय एक वटा लाई खोप लगाइएको छ। महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर रहेको बताउँदै निमित्त सचिव भुजले लम्पी रोग सङ्क्रमित पशुको आधारमा मृत्यु दर तीन दशमलव ६८ प्रतिशत रहेको बताए।

मन्त्रालयले रोग रोकथाम तथा नियन्त्रणका लागि ४० लाख रकमान्तर गरी १७ हजार डोज खोप तथा अन्य औषधी खरिद गरी सबै जिल्लामा वितरण गरिएको जनाएको छ। १७ हजार खोप मध्ये हालसम्म ९ हजार ९ सय एक डोज खोप लगाइएको र सात हजार ९९ डोज खोप अझै स्टक रहेको जनाएको छ।

अफ्रिकी महादेशमा मात्रै सीमित यो रोग युरोप हुँदै बङ्गलादेश, चीन तथा भारतमा देखारेपश्चात् पहिलो पटक नेपालमा विसं २०७७ असार महिनामा मोरङको सुन्दरहरैचा नगरपालिकामा गाईमा देखा परेको थियो।

रोग देखा परेपश्चातका सुरूका दुई वर्षमा यस रोगबाट १६ जिल्लाका २९ पालिकाका तीन हजार तीन सय एक पशु सङ्क्रमित भई १३ वटा पशु मरेका थिए।

प्रकाशित: २३ असार २०८० १७:०० शनिबार

‘लम्पी स्किन’