२०११ सालको बर्सादको कुरा हो। म र मेरो भाइ आइकम पढ्न नैनीताल पुगेका थियौं। यहाँ पुग्नासाथ यत्रो ठुलो र सुन्दर ताल देखेर मुग्ध भएका थियौं र यसका बारेमा जान्न उत्सुक थियौं तर होस्टलमा ठाउँ नपाएकाले चिन्तित पनि थियौं।
भाग्यवश हाम्रा अभिभावक स्व. दानसिंह विष्ट (टिम्बर किङ) ले आफन्तको सानो होटल रुकरीमा अफसिजनमा मात्र बस्नेखाने व्यवस्था गरिदिनुभएको थियो। अङ्ग्रेजले बेचेर गएको यो होटल नैनीतालको प्रख्यात मालरोड र ताल किनारबाट ३–४ सय फिटमाथि डाँडामा थियोे। त्यस होटलको प्रवेशद्वारसँगै ढुङ्गाले बनेको (मैले इनार भनी ठानेको) संरचना सिल्टट्र्याप पो रहेछ।
त्यसमा अघिपछि सुक्खा रहने खहरेको पानी बर्सादमा खस्ने रहेछ र त्यहाँबाट बालुवा गेगर छानिएर सफा पानी नैनीतालमा खस्दो रहेछ। पछि थाहा भयो, यस्ता सैकडौं सिल्टट्र्याप यहाँ रहेछन्। होटल मालिक अङ्ग्रेजी पाराका ठाकुर साहेब अङ्ग्रेजहरूले गरेको कामको ठुलै जानकार र प्रशंसक थिए।
२०११ सालको बर्सादको कुरा हो। म र मेरो भाइ आइकम पढ्न नैनीताल पुगेका थियौं। यहाँ पुग्नासाथ यत्रो ठुलो र सुन्दर ताल देखेर मुग्ध भएका थियौं र यसका बारेमा जान्न उत्सुक थियौं तर होस्टलमा ठाउँ नपाएकाले चिन्तित पनि थियौं।
तल्लीतालमा यस तालबाट निस्कने सानो खोला छ। तर बाह्रै महिना पानी हुने कुनै खोला यस तालमा झरेको देखिन्न। यो के हो भनी सोध्दा ठाकुर साहेबले मलाई सुखियाताल गएर हेर भने। वर्षायामबाहेक अन्य समयमा हेर्दा सुखियाताल करिब ४–५ सय मिटर लम्बाइ र ३ सय मिटर जति चौडाइको गेगर र बालुवा मात्र भएको तर पानी नभएको ताल रहेछ। कुनै जमानामा यो पानीको ताल थियो भन्ने स्पष्ट देखिन्छ।
यो सुखियताल नैनीतालको सिरान मल्ली ताल बजारभन्दा एक किलोमिटर जति माथि ४–५ सय फिटको उचाइमा रहेछ। चाइना पिक र स्नो भ्यु आदि डाँडातिरबाट एकदुई वटा ससाना खोला यसमा खसी हराउँदा रहेछन् र वर्षा याममा त खहरेहरूबाट पनि धेरै पानी खस्दो रहेछ। यस सुखियातालमा वर्षायामको भल फिल्टर भई जमिनमुनिबाट नैनीतालमा पस्छ भन्ने स्थानीयहरूले सुनाए।
प्रकृतिले नै बनाएको विशाल ‘डिसिल्टिङ वेसिन’ पो रहेछ यो। अंग्रेजहरूले यसको महत्व बुझी यस सुक्खाताललाई बचाएर राखेको कुरा ठाकुर साहेबले सुनाएको अझै याद छ। अङ्ग्रेज प्रशासकहरूले हाइड्रोलोजिस्ट–इन्जिनियर र जिओलोजिस्टहरूलाई बोलाई उनीहरूको राय सल्लाहमा सुखियाताल बचाउने र अन्य स्थानमा सैकडौं सिल्टट्र्याप बनाउन लगाई नैनीताललाई दीर्घ जीवन दिएका थिए रे।
यति गरेपछि (पर्यटनलाई बाधा पार्ने) ताल किनाराबाट यति मिटरसम्म निर्माण गर्न नपाउने भन्ने जस्ता लम्बाचौडा मापदण्ड बनाउन परेन। तालको वरिपरि १२/१५ फिट चौडा ग्राबेल मात्र राखिएको ठन्डी सडक बनिसकेको थियो। तालको पूर्वी किनारामा करिब डेढ किलोमिटरको लम्बाइमा ठन्डी सडकभन्दा ६/७ फिट माथि सरदर २०/२५ फिट चौडा पिचरोड बनाई तल्लीताल बस स्ट्यान्डलाई नैनादेवी मन्दिरसँगैको मल्लीतालको फ्ल्याटसँगै जोडियो। जसलाई मालरोड भनिन्छ।
प्रकृतिले नै बनाएको विशाल ‘डिसिल्टिङ वेसिन’ पो रहेछ यो। अंग्रेजहरूले यसको महत्व बुझी यस सुक्खाताललाई बचाएर राखेको कुरा ठाकुर साहेबले सुनाएको अझै याद छ।
सन् १९४७ सम्म यसमा मोटर गाडी र भारतीयहरूको प्रवेश निषेध थियो रे। यस सडकको डाँडोको भित्तातिर लन्डन हाउस, प्रिन्स आदि ठुला पसल र होटल रेस्टुराँ तथा क्यापिटल रिक थिएटर र सिनेमा हल आदि बनाइएका थिए। तालमाथि नै लाइब्रेरी र बोटहाउस क्लब बनाउन इजाजत दिइएको थियो। यो एरिया अत्यन्त स्वच्छ र प्रदूषणमुक्त थियो।
पान खाएर थुक्ने र सडकमा फोहोर फाल्नेलाई कठोर दण्ड हुन्थ्यो। ताल वरिपरि आकाशे पानीको अवशोषण क्षेत्र ठन्डी सडक थियो, मात्र १२/१५ फिट चौडा, जसमा माथि भनिएझैं ग्राबेल मात्र बिछाइएको थियो र छ। भारत स्वतन्त्र भइसकेपछि पनि यस मालरोडमा राष्ट्रपति र गभर्नरको कार मात्र जान सक्ने कडा नियम थियो। मालरोडमा पस्न खोज्दा तत्कालीन गृहमन्त्री गोविन्दवल्लभ पन्तको कार नेहरूजीले रोकेको किस्सा पनि सुन्निथ्यो।
सबै इभिनिङ वाकमा पैदलै हिँडी मालरोडको ‘लुफ्त’ उठाउँथे। हिँड्न नसक्नेका लागि साइकल-रिक्साहरू र हातले ठेल्ने डाँडीहरू मात्र त्यहाँ चलाउन पाइन्थ्यो। यस्तो अङ्ग्रेजहरूले बनाएको नियम र मापदण्ड १०० वर्षसम्म (भारतीय मेयर आएपछि पनि) बदलिएको थिएन। यसप्रकार पर्यटन उद्योगलाई स्थायी प्रोत्साहन दिइएको थियो। सुरुदेखि नै प्रदूषण नियन्त्रणको अत्यन्त प्रभावकारी व्यवस्था पनि गरिएको रहेछ।
सबै इभिनिङ वाकमा पैदलै हिँडी मालरोडको ‘लुफ्त’ उठाउँथे। हिँड्न नसक्नेका लागि साइकल-रिक्साहरू र हातले ठेल्ने डाँडीहरू मात्र त्यहाँ चलाउन पाइन्थ्यो।
अब फेवातालको कुरा गरौं अलिकति। फेवातालमा पानीको कमी होइन, बढी पानीको समस्या देखिन्छ। फेवातालको पानीको मुख्य स्रोत हर्पन र खहरे खोलाको क्याचमेन्ट नेपालको चेरापुन्जी भनिने वार्षिक सरदर ५००० मिमि (नेपालको औसतभन्दा तीन गुणा बढी) पानी पर्ने लुम्ले र पञ्चासे क्षेत्रमा पर्छ। पोखरामा नै पनि सरदर २५०० मिमिभन्दा बढी पानी पर्छ। जिओलोजिकल म्याप हेर्ने हो भने हर्पन खोलाको सहायक खहरे बाजे खोलासँगैको भूबनोट एलुभियल डिपोजिट (अत्यन्त कमजोर) प्रकारको छ। अतः यहाँ बर्सादमा बाढी आउनासाथ धेरै कटान हुने स्पष्ट देखिन्छ।
कैयौं अध्ययन भए पनि यस क्षेत्र र हर्पन खोलाको सघन विस्तृत हाइड्रोलोजिकल र जिओलोजिकल अध्ययन भएको जानकारी छैन। २०५८ सालमा पेस गरिएको वातावरण मन्त्रालय र जापानी सहयोग मिसन (जाइकाको) प्रतिवेदनमा उल्लेख भए अनुसार फेवातालमा पौने दुईदेखि सवा दुई लाख टन सिल्ट र गेगर थिग्रिने गर्छ र ताल पुरिई दलदले जमिन देखिने क्रम वार्षिक २ हेक्टर (करिब ४० रोपनी) को दरले बढेको देखिन्छ।
यो रिपोर्ट सरकारले बुझेको २२ वर्ष भइसक्दा पनि ताललाई मृत्युको मुखमा पु¥याइरहेको यस विनाशकलाई रोक्ने कुनै ठोस प्रयास भएको छैन। न त सचेत नागरिक र सञ्चार माध्यमले यसतर्फ ध्यान नै दिएको छ। ६५ मिटरको मापदण्ड लागु नभएकाले नै यो ताल सुक्ने भएको छ भन्ने गलत अवधारणा फैलाइएको छ। सचेत नागरिकहरूले थाहा पाउनुपर्ने तथ्य यस्तो छ।
कैयौं अध्ययन भए पनि यस क्षेत्र र हर्पन खोलाको सघन विस्तृत हाइड्रोलोजिकल र जिओलोजिकल अध्ययन भएको जानकारी छैन।
ताल बचाउने योजना २०३० मा बनाई ताल किनारको मूल सडकबाट २०० फिटसम्म कुनै संरचना निर्माण गर्न नपाइने मापदण्ड मन्त्रालय बनाएपछि २०३१ मा अतिवृष्टि र हर्पनखोलाको बाढीले फेवा ड्याम फुटाएकाले पनि ताल वरिपरि २०० फिट (६१ मिटरको) अवशोषण क्षेत्र नचाहिने रहेछ भन्ने पुष्टि भइसकेको थियो।
तालको संवेदनशील ठाउँहरूको सैकडौं रोपनी जग्गा अधिग्रहण गरी पार्क निर्माण भएपछि चर्को जनदबाबका कारण नगर योजनामा संशोधन गरी यस मापदण्डलाई घटाई लेकसाइडमा ६६ फिट गरी लागु गर्ने निर्णय २०४७ र २०४८ मा भौतिक योजना मन्त्रालयकै योजना कार्यान्वयन समितिले र नगर विकास ऐन २०४५ बाट अधिकारप्राप्त नगर विकास समितिले २०५० मा लागु गरेको प्रमाण देखिन्छ।
यसपछि, लेक साइडमा अभूतपूर्व रूपमा पर्यटनको विकास भएको थियो। लेकसाइडदेखि खपौंदीसम्मका पर्यटकीय क्षेत्रका ताल पुर्ने या प्रदूषण फैलाउने काम गरेका कसैले प्रमाणित गर्न सकेको छैन। त्यसपछि २०६४ मा (जाइकाको सिफारिसबमोजिम नगरी) सहरी र ग्रामीण क्षेत्रमा एकैनासको ६५ मिटरको मापदण्ड लागु गर्न नगर विकास समितिमा जिल्ला विकास समितिले लेखी पठाएपछि २०६४/४/२८ मा यस समितिले यो मापदण्ड लागु गर्न स्वीकृतिका लागि भौतिक योजना मन्त्रालयमा सिफारिस गर्ने मात्र निर्णय भएको देखिन्छ। तर स्वीकृति आएको प्रमाण देखिएको छैन।
पचासौं अर्बको क्षतिपूर्ति कसले दिने भन्ने टुङ्गो नलागेकाले र यो मापदण्ड राष्ट्र र जनहितका दृष्टिले अनावश्यक भएको र विज्ञहरूका राय आदिका आधारमा २०६८/४/२७ मा आफ्नो २०६४ को निर्णयलाई उल्टाइ ड्याम साइडमा सडक केन्द्रबाट ४० फिट, लेक साइडमा ३६ फिट, गैरी चौतारासम्म ३३ फिटको मापदण्ड तोक्ने निर्णय उपर्युक्त ऐनबाट (एक मात्र अधिकार प्राप्त) नगर विकास समितिले गरेकोमा नगर विकास समितिका अध्यक्ष तथा सदस्यहरूका साथै सिडिओ, नगर प्रमुख र सर्वदलीय सर्वपक्षीय उपस्थिति रहेको बैठकले यो मापदण्ड लागु गर्ने निर्णय २०६९/२/६ मा गरेको प्रमाण देखिन्छ।
त्यसपछि २०६९/४/२८ मा पोखरा उपमहानगरपालिकाका प्रमुख र ४ दलका प्रतिनिधि एवम् सम्बन्धित इन्जिनियरहरूको बैठकले नगर विकास समितिले २०६८/४/२७ मा कानुनबमोजिम तोकेको मापदण्डअनुसार नक्सा पास गरिदिने निर्णय गरेको प्रमाण देखिन्छ। त्यसपछि २०७५ सम्म सैकडौं भवन निर्माण स्वीकृति पत्र पोमनपाले प्रदान गरेको प्रमाण जसले पनि हेर्न सक्छ तर २०७५ को सर्वोच्च अदालतको फैसलाले जिल्ला विकास समिति र नगर विकास समितिको उपर्युक्त २०६४ को निर्णयलाई नै एक मात्र आधार मानी ६५ मिटरभित्र अनधिकृत रूपमा बनेका घर होटल भत्काउनु भन्ने आदेश जारी गरेको थियो।
नैनीतालले ताल बचाउन अनुशासन र प्रविधिलाई चुन्यो। सिल्ट कन्ट्रोल र बन्द ढल निकासको व्यवस्थालाई महत्व दिई १०० वर्षभन्दा बढी समयसम्म उसले ताल बचाएको छ, साथै थप हजारौं वर्षसम्म ताल जोगाउन सक्षम भएको छ। तर, हामीले ताल बचाउन सरकार र मेयर बदलेसँगै बदलिने मापदण्ड र बुलडोजरे संस्कृतिलाई चुनेका छौं।
नैनीतालले ताल बचाउन अनुशासन र प्रविधिलाई चुन्यो र सिल्ट कन्ट्रोल र बन्द ढल निकासको व्यवस्थालाई महत्व दिई १०० वर्षभन्दा बढी समयसम्म उसले ताल बचाएको छ साथै थप हजारौं वर्षसम्म ताल जोगाउन सक्षम भएको छ। तर, हामीले ताल बचाउन सरकार र मेयर बदलेसँगै बदलिने मापदण्ड र बुलडोजरे संस्कृतिलाई चुनेका छौं। के यसले मात्र फेवाताललाई बचाउन सक्ला?
प्रकाशित: २३ असार २०८० ०२:५७ शनिबार