समाज

भरतपुर महानगरभित्रका बालगृह मापदण्ड विपरित सञ्चालन

चितवनको भरतपुर महानगरपालिका भित्र सञ्चालनमा आएका बालगृहहरु मापदण्ड विपरित सञ्चालनमा आएको पाइएको छ।

भरतपुर महानगरपालिकाले गरेको अनुगमनका क्रममा अधिकांस बालगृह मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो।

भरतपुर २७ पर्साढापको प्रेम नेपाल बालगृह, भरतपुर १६ को अस्मा बाल पुनःस्थापना गृह, भरतपुर ५ को सामुदयिक स्तरमा सञ्चालित पिटुसिटु, भरतपुर ७ मा रहेको राइज अफ होम र भरतपुर ९ मा रहेको चितवन मानवसेवा आश्रममा महानगरपालिकाले सोमबार र मंगलबार अनुगमन गरेको हो। अनुगमन गरिएका सबै बालगृहले सबै मापदण्ड पुरा नगरेको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बताए।

‘यहाँ सञ्चालित बालगृहले कुनै न कुनै मापदण्ड पुरा गरेका छैनन्,उनले भने, कोहीको दर्ता प्रकृया छैन, कोहीको भौतिक संरचना छैन।’ उनले बालगृहहरुमा खान बस्नको समेत राम्रो व्यवस्था नभएको भेटिएको बताए।

भरतपुर महानगरपालिका भित्र २२ वटा बालगृहहरु सञ्चालनमा रहेका छन्। २२ बालगृहमा संरक्षित बालबालिकाको संख्या छ सय ७८ रहेको छ। जसमध्ये बालक दुई सय ९६ र बालिका तीन सय ४४ जना रहेका छन्। सबै बालगृहहरुलाई सुधार नगरे बन्द गर्ने तयारीमा रहेको उपप्रमुख अधिकारीले बताए। उनले पहिलो चरणमा सबै बालगृहका सञ्चालकलाई छलफलमा बोलाइएर सचेत गराउने र सुधार नगरे बन्द गर्ने बताए। काठमाडौंपछि सबैभन्दा धेरै बालगृह चितवनमा छन्।

भरतपुर महानगरपालिकाको सामाजिक विकास समिति संयोजक परमेश्वर खनालले बालगृहले भौतिक संरचना, खानपान, सरसफाई, खैलमैदान, स्वास्थ्य लगायतका मापदण्ड पुरा गरेको हुनुपर्ने बताए। उनले बालबालिकाको भविष्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई नभएको भन्दै महानगरपालिका कडाइका साथ प्रस्तुत हुने चेतावनी दिए।

नेपालमा बाल संरक्षणको अवस्था निकै दयनीय र भयाबह रहेको विभिन्न खोज तथा अध्ययनहरुले देखाएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीविले कानुन अनुसार बालगृह सञ्चालनमा आउन सुझाव दिए।

शक्ति समूह व्यवस्थापन समितिका सदस्य तथा अधिवक्ता दिलिप कोइरालाका अनुसार हाल नेपालमा ४० जिल्लामा रहेका ४ सय ५० बालगृहमा १२ हजार बालबालिकाहरुले आश्रय लिइरहेका छन। जसमध्ये ८० प्रतिशत भन्दा बढी बालबालिकाहरु अभिभावक सहितका देखिन्छन्।

राष्ट्रिय बाल अधिकार परिषद्का अनुसार नेपालमा काठमाडौ र भरतपुरमा सबै भन्दा बढी बालगृहहरु सञ्चालनमा रहेका छन। परिषद्का सदस्य सचिब इन्द्रादेवि ढकालका अनुसार चितवनका बालगृहहरु उत्कृष्ट श्रेणीमा पर्ने गरेका छन।  

प्रकाशित: २२ असार २०८० १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App