समाज

सदरमुकामसँग जोडियो मेलम्ची क्षेत्र

तस्बिर: इन्द्रावती नदीमा निर्मित मेलम्ची बेलिब्रिज।

बाढीले मोटरेवल पुल बगाउँदा सदरमुकामसँग एक्लिएको पश्चिमी मेलम्ची क्षेत्र बेलिब्रिज निर्माणसँगै दुई वर्षपछि सडक यातायातले जोडिएको छ।

पश्चिमको केन्द्र मेलम्ची नगरपालिका १० र ११ जोड्ने इन्द्रावती नदीमा बेलिब्रिज निर्माण भएर सञ्चालनमा आएको हो। जिल्लाको मध्य र पश्चिमी क्षेत्रको ‘लाइफ लाइन’ मानिने यो पुलको शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र प्रधान सेनतापति प्रभुराम शर्माले संयूक्त उद्टान गर्दै सञ्चालनमा ल्याए।

२०७८ असार १ गते तल्लो तटीय क्षेत्रमा व्यापक जनधनको क्षति पु¥याउने गरी मेलम्ची र इन्द्रावतीमा आएको बाढीले पक्की मेलम्ची पुल बगाएको थियो। दुई वर्षपछि सोही स्थानमै बेलिब्रिज निर्माण गरिएको हो। पुल निर्माणसँगै हेलम्बु र मेलम्चीका बासिन्दालाई इन्द्रावती गाउँपालिका हुँदै सदरमुकाम चौतारा ओहोरदोहोर गर्न र यताका स्थानीयलाई छोटो बाटोबाट त्यता जान सहज भएको छ।

त्यस्तै पाँचपोखरी गाउँपालिकाका बासिन्दालाई किनमेल गर्ने मुख्य बजार मेलम्ची झर्न र राजधानी काठमाडौँ पुग्न सजिलो भएको छ। सडक विभागको बजेटमा नेपाली सेनाले एक महिनामै बेलिब्रिज निर्माण गरेको हो। विभागले यो पुल बनाउन चालू वर्षको लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

पुलको लागत भने सेनाले सार्वजनिक गरिसकेको छैन। निर्माणमा संलग्न सेनाको प्राविधिक टोलीले दिएको जानकारी अनुसार ४.२ मिटर चौडाइ भएको बेलिब्रिजको लम्बाई ६७.७० मिटर छ। पुलको अधिकतम भारबहन क्षमता १८ टन रहेको छ।

ठेक्का प्रक्रियाबाट निर्माण गर्ने तयारी गरिएको यो बेलिब्रिज अन्तिममा सेनामार्फत ‘फास्ट ट्रयाक’मार्फत बनाइएको हो। यसै क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका बस्नेत स्वास्थ्यमन्त्री बनेपछि उनकै पहलमा बेलिब्रिज निर्माणको जिम्मा सेनालाई दिइएको स्रोतले बतायो। बस्नेतले यो पुल निर्माणलाई प्रतिष्ठाको विषय बनाएका थिए। किन भने गएका निर्वाचनमा उनले तत्काल यो पुलको पुनर्निर्माण गर्ने एजेण्डा मतदाताबीच लगेका थिए।

बेलिब्रिजको उद्घाटन गर्दै मन्त्री बस्नेतले सेनाको कामको प्रशंसा गर्दै आफूले चुनावी प्रतिवद्धता पूरा गरेको बताए। ‘यस्ता धेरै प्रतिवद्धता स्थानीयसँग गरेको छु। ती बिस्तारै पूरा गर्दै लग्ने छ,’ उनले भने। प्रधानसेनापति शर्माले नेपाल सेना आफ्नो कर्तव्य पूरा गर्न सँधै प्रतिवद्ध रहेको जनाए।

दुई वर्षअघिको बाढीले मेलम्ची र इन्द्रावती करिडोरका आधा दर्जनभन्दा बढी पक्की (मोटरेवल) पुल बगाएको थियो। त्यसमध्ये गत वर्ष हेलम्बुस्थित मेलम्ची खोलामाथि रातोपुलमा बेलिब्रिज निर्माण गरिएको थियो। उक्त पुल पनि सेनाले नै बनाएको थियो। मेलम्चीको बेलिब्रिज दोस्रो पुल हो। बाढीले बगाएका बाँकी पुल कहिल बन्ने भन्ने अझै टुंगो लागेको छैन।  

प्रकाशित: २२ असार २०८० १३:०८ शुक्रबार

बेलिब्रिज मेलम्ची