समाज

प्रतिबन्धित औषधिसहित ५ जना पक्राउ

मोरङको रंगेली र लेटाङबाट लागुऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधिसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

रंगेली नगरपालिका–७ स्थित मालपोत कार्यालय नजिक रहेको एक होटलबाट ब्राउनसुगरसहित २ जनालाई इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले रंगेली–६ का २४ वर्षीय शेफ खान र सोही ठाउँका २८ वर्षीय दीपेश अग्रवाललाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको जनाएका छन्।

बिहीबार रंगेलीको एक होटलमा लागुऔषध ब्राउनसुगर खरिद बिक्री हुँदै भन्ने सूचनाका आधारमा छापा हान्दा पक्राउ परेकाहरुको साथबाट ब्राउनसुगर ५० ग्राम बरामद भएको बताउँदै, डिएसपी दाहालले भने, ‘ब्राउनसुगर खरिद बिक्री हुँदै छ भन्ने सूचना प्राप्त भएपछि त्यहाँ छापा हान्दा ५० ग्राम ७५० मिलिग्राम ब्राउनसुगर र ब्राउनसुगर तौलन प्रयोग हुने डिजिटल तराजुसमेत बरामद गरिएको छ।’ पक्राउ परेकाहरुविरुद्ध लागुऔषध कसुरमा म्याद थपेर अनुसन्धान थालेको  प्रहरीले जनाएको छ।

त्यस्तै, लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ३ जना बुधबार साँझमा लेटाङबाट पक्राउ परेका छन्।

लेटाङ नगरपालिका–८ का २६ वर्षीय अभिषेक दर्जीले प्रतिबन्धित औषधि लुकाइछिपाई राखेको अवस्था भेटिएको थियो। दर्जीको साथबाट ट्रामाडोल ६ सय ४५ चक्की, ट्रामाडोलको खोलहरू १० पत्ता, स्पासपेन ७ सय ५३ चक्की फेला परेको थियो। प्रतिबन्धित औषधिसहित पक्राउ परेका दर्जीलाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभागमा बुझाएको प्रहरीले जनाएको छ।

लेटाङबाटै लेटाङ –८ का २० वर्षीय दिवाहाङ राई र सोही ठाउँका २० वर्षीय पवन बाग्दासलाई लागुऔषध गाँजा ४ पोका (५०० ग्राम), गाँजा तान्ने बाँसको पाइप थान–१, लाइटर थान–१ सहित पक्राउ परेका छन्। पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध कसरमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २१ असार २०८० १३:३३ बिहीबार

लागुऔषध