समाज

खरानी भए बाघको छाला र खाग

चितवन- गैंडाको नाकमाथि हुने सिंग जस्तो वस्तु खागमा औषधिको गुण हुन्छ भन्ने चीनीयाँ अन्धविश्वास छ। विज्ञानले मान्छेको शरीरमा हुने रौं र खागमा एउटै रासायनिक तत्व हुने र कुनै खालको औषधीय गुण नहुने प्रमाणित गरे पनि अन्धविश्वासका कारण अन्तराष्ट्रिय तह मै खागको अवैध बिक्री वितरण हुने गरेको छ। खागका लागि तस्करहरूले गैंडा मार्दा यो जनावरको अस्तित्व नै संकटमा परेको छ।

बाघको अवस्था पनि त्यस्तै छ। हाड, छाला, मासु, नङ्ग्रा र रौंसमेत औषधिमा प्रयोग हुने भन्दै तस्करले बिक्री वितरण गर्ने गर्छन्। बाघको छालाको बिक्री पनि त्यसरी नै हुने गरेको छ। भालुको पित्त, कस्तुरीको बिना, जस्ता अनेक जंगली जनावरका अंगको अवैध बिक्री वितरणको समस्या विश्व व्यापी नै छ।

जंगली जनावरका अंगमा कुनै खालका औषधि बन्ने तत्व छैनन्, जनावर मरेपछि उपयोगविहीन हुन्छन् भन्ने सन्देश दिन सोमबार चितवनको कसरामा एउटा फरक खालको कार्यक्रम गरियो। कार्यक्रममा सयौं थान खाग, छाला र वन्यजन्तुको अंगप्रत्यंग आगो लगाएर नष्ट गरियो। कार्यक्रममा सरकारका तीनजना मन्त्री नै उपस्थित थिए।

परराष्ट्र मन्त्री प्रकासशरण महतले वन्यजन्तुका अंगको थुप्रोमाथि आगो झोसे। केही घण्टामा वन्यजन्तुका चार हजार १२ थान अंग खरानी भए। 'यीनको मूल्य करोडौं अर्बौ हुन्छ भन्ने गरिन्छ तर त्यो अवैध व्यपारीले तय गरेको मूल्य हो। सरकारी मान्यता त के हो भने जसरी मान्छे मरेपछि उसका अंगको कुनै प्रयोजन छैन। वन्यजन्तुका अंगको पनि अवस्था त्यही हो,' मन्त्री महतले भने।

त्यही मान्यतालाई पुष्टि गर्न विश्व जैविक विविधता दिवसको अवसर पारेर वन्यजन्तुका अंग जलाएर नष्ट गर्ने कार्यक्रम राखेको उनले बताए। वनमन्त्री शंकर भण्डारीले जंगली जनावरको अंग बहुमूल्य हुन्छ भन्दै सिकार गर्न उक्साउनेका कारण वन्यजन्तु संकटमा परेको हुँदा यस्तो कार्यक्रम गर्नु परेको बताए। अन्य महत्व पनि नभएको र औषधिको गुण पनि नहुने भएका कारण यसरी जलाएको उनको भनाइ छ।

'उपयोगमा आउने भए त्यही रुपमा प्रयोग गर्दथ्यौं तर अन्धविश्वासलाई प्रश्रय दिएर यसको अवैध कारोबार गर्नेहरुले छरेको भ्रम चिर्न पनि यो काम गर्नु आवश्यक थियो। यसरी जलाएपछि यी मूल्यहीन बस्तु हुन् भन्ने सन्देश गएको छ,' वन मन्त्री भण्डारीले भने।

वातावरण मन्त्री जयदेव जोशीले पनि वन्यजन्तुका अंग महत्वहीन भन्ने सन्देश गए चोरी सिकार नियन्त्रणमा सहयोग पुग्ने बताए।

२० वर्षपछि नष्ट

सरकारले २० वर्षपछि वन्यजन्तुका अंग नष्ट गरेको हो। २०५४ सालको चैत्र ९ मा केही अंग चितवनकै टिकौलीमा जलाएर नष्ट गरिएको थियो। त्यसयता जम्मा भएका लगभग सबै आखेटोपहार जलाएर नष्ट गरिएको छ। दुर्लभ वन्यजन्तुका अंगलाई आखेटोपहार भन्ने गरिन्छ।

निकुञ्ज, आरक्ष जस्ता संरक्षित क्षेत्रमा कालगतिले मरेर निकालिएका वा अवैध कारोबारका क्रममा बरामद भएका वन्यजन्तुका अंगहरु चितवन निकुञ्जको मुख्यालय कसरामा राख्ने गरिन्छ। राष्ट्रिय वन क्षेत्रमा मरेका जनावरका अंग र अवैध कारोबारका क्रममा बरामद भएका अंगहरु पनि चितवनकै टिकौलीको शसस्त्र वन रक्षक तालिम केन्द्रमा राख्ने गरिन्छ।

भण्डारण गर्दा अनेक खालका समस्या आएको कारण नष्ट गर्नु पर्ने विषयमा ६७/६८ सालबाटै चर्चा भएको हो। 'त्यो बेलामा पनि केही अध्ययनहरु भए। तर ७० सालको साउन १४ मा प्रधानमन्त्री अध्यक्ष रहेको राष्ट्रिय बाघ संरक्षण समितिको बैठकले ठोस निर्णय गरेको हो,' राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने।

बाघ संरक्षण समितिको बैठकले आखेटोपहारलाई कार्यविधि बनाएर नष्ट गर्ने प्रक्रियामा जाने निर्णय गरेको थियो। त्यस अनुसार तयारी सुरु भएपछि संसदको वातावरण संरक्षण समितिले चासो दिएको थियो। समितिले स्थलगत अनुगमन गरेर चिन्न सकिने अवस्थामा रहेका आखेटोपहारमा बार कोड गर्नुका साथै फोटो खिचेर नमुना संकलन गरेर मात्रै नष्ट गर्न निर्देशन दिएको थियो। समितिले ७२ चैत्र २१ मा त्यस्तो निर्देशन दिएपछि सरकारले अमेरिकन विज्ञहरुको सहयोगमा बार कोडिङ गर्ने, नमुना संकलन र फोटो खिच्ने काम गर्नुका साथै चिप्सहरुसमेत राख्ने काम गरेको थियो।

'सम्पूर्ण आखेटोपहारको फोटो खिचेर नुमनासमेत सुरक्षित  छ। विवरण संकलन र अभिलेख वैज्ञानिक रुपमा राखेका छौं। आज सार्वजनिक रुपमै त्यसलाई जलाएर नष्ट गर्‍यौं' वन मन्त्रालयका सहसचिव महेश्वर ढकालले भने। विज्ञ टोलीले तयार पारेको प्रतिवेदन अनुसार बाघ संरक्षण समितिले अघिल्लो वर्षको जेठ २ मा नै आखेटोपाहार नष्ट गर्न मन्त्री परिषद्मा सिफारिस गरेको थियो।

चार हजार थान आखेटोपाहार नष्ट

सिफारिस अनुसार यही जेठ ४ मा सम्पन्न मन्त्री परीषद बैठकले जेठ आठ गते कसरामा आखेटोपहार नष्ट गर्ने निर्णय गरेको थियो। जस अनुसार टिकौलीमा जम्मा भएका एक हजार ७३९ थान र कसराका दुई हजार २७३ थान गरेर कुल चार हजार १२ थान आखेटोपहार नष्ट भएको छ।

गैंडाको खाग ३५७ वटा, बाघको छाला ६७ वटा, कस्तुरीको बिना ३४ थान, ध्वासे चितुवाको छाला दुई थान, हिउँ चितुवाको छाला एक थान, चिरुको उन ४२ बोरा, सालकको खपटा दुई पोका रहेका छन्। हाब्रेको छाला ४७ थान, ४१८ थान चितुवाको छाला र १५ थान भालुको पित्त पनि नष्ट गरिएको छ।

कुल ४८ प्रजातिका वन्यजन्तुको आखेटोपहारहरु नष्ट गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। गैंडाको खाग १० वटा, बाघको छाला पाँचवटा, कस्तुरीको बिना ४ थान, एक पोका चिरुको उन, दुई थान हाब्रेको छाला र एउटा हिँउ चितुवाको छाला सुरक्षित राखिएको छ। यी नमुनाहरु अध्ययन गर्न चाहने वा संग्राहालयमा राख्न चाहनेलाई नियम पुर्‍याएर दिइने छ।

केही आखेटोपहार अध्ययन गर्न चाहने वा संग्राहालय वा प्रदर्शनी स्थलमा प्रदर्शनका लागि राख्न चाहनेले मागेमा दिन सुरक्षित राखिएको छ।

हात्तीको ११ सय किलो दाह्रा भण्डारमा भए पनि त्यसलाई यो पटक जलाइएन। नौ सय डिग्री तापक्रम नभइ दाह्रा नजल्ने भएका कारण पछि विशेष व्यवस्था गरेर जलाउने उनले बताए।

अन्तराष्ट्रिय रूपमा पनि यसरी आखेटोपहारहरु जलाउने चलन रहेको वनमन्त्रालयका अधिकारीहरुले बताएका छन्। कसराको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेपलेट्ज पनि उपस्थित थिइन्।

साइटिस महासभाबाट प्राप्त मन्तब्व् पनि कार्यक्रममा पढेर सुनाइएको थियो। राष्ट्रिय अन्तराष्ट्रिय कानुन र सन्धीका सबै प्रक्रिया पूरा गरेर आखेटोपहार व्यवस्थापन गरेको अधिकारीहरुले बताएका छन्।

प्रकाशित: ९ जेष्ठ २०७४ ०४:२६ मंगलबार

खरानी भए बाघको छाला खाग