समाज

अन्ततः भक्तपुरमा गुड्ने भो साझा बस

काठमाडौं-यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको लामो रस्साकस्सी पछि साझा बसले अन्ततः भक्तपुरमा गुड्ने इजाजत पाएको छ। इजाजत पाएसँगै भक्तपुरमा साझाबस गुड्ने बाटो खुलेको हो। साझा यातायातले भक्तपुरमा बस सञ्चालनको लागि गत फागुन ३० गते नै विभागसँग रुटपरमिट माग गरेको थियो ।

भक्तपुरका यातायात व्यवसायीको चर्को दबाबले विभागले साझालाई रुटपरमिट दिन आनाकानी गरिरहेको थियो ।जनताको चौतर्फी दबाबपछि यातायात व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले साझा बसलाई भक्तपुरमा गुड्ने इजाजत दिएको हो ।

साना तथा ठूला सवारी कार्यालय एकान्तकुनाका प्रमुख बसन्त अधिकारीले साझालाई भक्तपुरमा गुड्ने इजाजत दिएको बताए ।‘साझाका २० वटा बसलाई भक्तपुरमा गुड्ने इजाजतपत्र दिएका छौं,’ उनले भने,‘नयाँ इजाजत  पाएका बस कोटेश्वर, जडिबुटी, कौशलटार, नयाँ ठिमी हुदैं नयाँ बाटो हुदै सूर्यविनायक सम्म गुड्न पाउनेछन् ।’

 प्रमुख अधिकारीले साझाले प्रत्येक बसको वीमा, राजश्व तिरेको रसिद लगायतका कागजपत्र तिरेपछि सडकमा बस गुडाउन पाउनेछ । साझाले कोटेश्वर– सानोठिमी हुदैं कमलविनायक हुदै नयाँ बाटोसम्म पुग्ने अर्को  रुट पनि मागे पनि यातायात व्यवस्थापन समितिले भने सो रुट तत्कालको लागि उपलब्ध गराएको छैन् ।

साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले भक्तपुरका जनताले साझा बस माग गरेकाले भक्तपुरमा बस सेवा विस्तार गर्न लागेको बताए ।‘स्थानिय जनताको माग अनुसार नै सेवा विस्तार गर्न लागेका हौं,’ उनले भने,‘केही समय ढिलाभएपनि गुड्ने इजाजत पाएका छौं  ।चरणमा कलंकी–कोटेश्वर रुटमा चलेका सवारीसाधनलाई भक्तपुरसम्म विस्तार गर्न लागेका हौं ।’

साझाका कायममुकायम कार्यकारी निर्देशक पाण्डेले इजाजतपत्र हात परेको एकसाताभित्रै भक्तपुरमा साझा बस गुडाउने बताए ।‘केही दिनको तयारी पछि बस गुडाउनेछौं,’ उनले भने,‘साझा बस विहानदेखि बेलुकासम्म नै सेवा दिनेछौं ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने साझालाई भक्तपुर क्षेत्रमा रुट परमिट दिन नहुने भन्दै चर्को विरोध गर्दै आएका छन् । महासंघका वागमती अञ्चल संयोजक धर्मराज रिजालले साझा बसलाई मनलाग्दी हिसाबले जुनसुकै रुटमा चल्न नदिने बताए । यातायात व्यवसायीले साझाले सुगम ठाउँमा मात्रै सवारी चलाउन नहुने दाबी गरेका छन् । उपत्यकामा हाल साझाले ४२ वटा बस सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिर काठमाडौं–वीरगन्ज र काठमाडौं–बाग्लुङ रुटमा चारवटा गरी ४६ वटा बस सञ्चालनमा छन । साझाले भक्तपुर रुटमा २० वटा, एयरपोर्ट रुटमा ६ वटा, लगनखेल नयाँबसपार्क रुटमा ६ वटा र  लगनखेल बुढानिलकष्ठ रुटमा ६ वटा बस सञ्चालन गर्दै आएका छन् ।

साझाले लामा रुटमा  १३ वटा बस थप्दै

साझा यातायातले लामो रुटमा १२ वटा बस थप्ने योजना अघि बढाएको छ । साझाका कायममुकायम कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले ६ महिनाभित्रै १३ वटा बस थप्ने प्रक्रिया अघि बढेको बताए ।‘नयाँ बस खरिद प्रक्रिया अघि बढाइसकेका छौं,’ उनले भने,‘सम्भवत् ६  महिनाभित्रै गुडाउनेछौं ।’ एउटा बस उपत्यकाभित्रै चलाउने बताइएको छ ।

 

 

 

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७४ १३:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App