समाज

अनियमितता गरेको भन्दै हेटौंडा १८ नं वडामा ताला

हेटौंडा उपमहानगरपालिकाको १८ नम्बर वडामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

बजेट बाँडफाँटमा अनियमितता गरेको भन्दै स्थानीय युवाहरुले वडा कार्यालयमा सोमबार दिउँसो तालाबन्दी गरेका हुन्।

बजेटमा अनियमितता गरेको, टोल विकास संस्था र स्थानीयसँग कुनै समन्वय नगरेको, आवश्यक व्यक्तिलाई भन्दा आफन्तलाई अनुदान दिएको, सीमित र आफ्नो पक्षको व्यक्तिहरु राखेर सार्वजनिक सुनुवाई गरेको, फरक व्यक्तिको गाई बाख्रा, खसी, टनेल देखाएर आसेपासेलाई अनुदान वितरण गरेको र गरिबले पाउने अनुदान आफू निकटकालाई वितरण गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

जनताको प्रत्यक्ष माग र आवश्यकताको सम्बोधन हुनुपर्ने, वडावासीहरूलाई सार्वजनिक सूचना गरी सार्वजनिक सुनुवाई गर्नुपर्ने, सुनुवाईमा हेटौंडा उपमहानगरपालिकाका मेयर, उपमेयर तथा वडाका प्रशासन प्रतिनिधिको उपस्थिति हुनुपर्ने माग राखिएको छ।

तालाबन्दी गर्नुको कारण र माग लेखिएको पत्र वडा कार्यालयको ढोकामा टाँसिएको छ। वडा कार्यालयबाट हुने काम कारबाहीमा मनलाग्दी भएपछि स्थानीय युवाहरुले कार्यालयमा तालाबन्दी गरेको स्थानीय सुन्दर दाहालले जानकारी दिए।

हेटौंडाको १८ नम्बर वडा कार्यालयमा लगाइएको ताला।

‘वडाको काम पारदर्शी र विधिसंवत् हुनुपर्‍यो भन्ने यहाँका सर्वसाधारणको माग हो’, उनले भने, ‘यस विषयमा वडा अध्यक्षलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर स्थानीयले वडामा ताला लगाउनुपर्ने अवस्था आएको हो।’

तालाबन्दी पछि वडाले असन्तुष्ट समूहसँग सोमबार दिउँसो वार्ता गरे पनि विना निष्कर्ष टुङ्गिएको थियो। तालाबन्दी पछि वडा कार्यालयमा नेपाल प्रहरी र हेटौंडा उपमहानगरपालिकाको नगर प्रहरी परिचालन भएको थियो।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँको मोबाइल सम्पर्क हुन सकेन।

प्रकाशित: १८ असार २०८० १३:३७ सोमबार

हेटौंडा १८ नं वडा