समाज

भगवानकाे घरआसपास घुम्दा

घुमफिर

हुम्लाको लिमी उपत्यकास्थित हल्जी गुम्बाका लामा पेमा रिङसार रिम्पोचे।

सुरुमा पर क्षितिजमा बादल देखियो। एकै छिनमा बादल फाटेपछि कैलाश मानसरोवरको दूर दर्शन भयो।

‘हर हर महादेव’ मन झङ्कृत भयो। नेपाली भूमि हुम्लाको लाप्चीबाट सहजै कैलाश-मानसरोवर दर्शन सम्भव रहेछ। केही पर उत्तरको छिमेकी चीनको भूमि देखिन्छ।

लिमी उपत्यकाकाे बासिन्दा।

कैलाश मानसरोवर यात्राको परम्परागत बाटो बेग्लै छ। त्यसका निम्ति अन्य प्रक्रिया मिलाउनुपर्छ। नेपाली भूमिबाटै दूर दर्शन गर्न भने तुलनात्मक रूपमा सजिलो छ।

 

मुलुकको दुर्गम ठाउँमध्ये एक पर्छ हिमाली जिल्ला हुम्ला। तर, प्रकृतिले हुम्लालाई अनुपम सौन्दर्य दिएको छ। समय हुनेले हिँडेर, नहुनेले जहाज र हेलिकोप्टरबाट पनि लाप्ची पुगेर यो ठाउँलाई महसुस गर्न सकिन्छ। 

तुम्लिङबाट देखिएको तजुङ हिमाल।  

नेपालगन्जबाट उडेको जहाज ३५ मिनेटमै सिमीकोट पुग्छ। बिहान सात नबज्दै सिमीकोट विमानस्थलबाट माउन्टेन एअरको हेलिकोप्टरले हामीलाई लाप्चीमा पुर्‍याएर कैलाश मानसरोवरको दूरदर्शन गर्ने अवसर दिएको हो। यसका चालक शिवु बस्नेतको अनुभवी मार्गदर्शनले यात्रा सहज मात्र हुँदैन, कैयन् विषयवस्तुको साक्षात्कार गर्ने अवसर प्राप्त हुन्छ।

  

कैलाश मानसरोवर दूरदर्शन गर्नुअघि तिब्बती पठार देखिन्छ। पर क्षितिजसम्म फैलिएको पठारले मनलाई स्वर्गीय अनुभूतिमा पुर्‍याउँछ। ठिंग उभिएका थोरैथोरै हिउँको श्रीपेच लगाएका पहाड मनमोहक लाग्छन्।

सिमीकोट विमानस्थल

हामी समुद्रबाट टाढा छौं तर मुलुकको ठुलो जनसंख्या अहिले पनि हिउँ देख्दा आफूलाई भाग्यमानी ठान्छ। केही दिनको यात्रापछि हामी हिमगिरिको दर्शन गर्न सक्षम हुन्छौं। पर्वतका टुप्पामा हिउँ देख्दा मन त्यसैत्यसै रोमाञ्चित हुन्छ।

  

हुम्लाको तुम्लिङ पनि उस्तै रोचक लाग्छ। त्यहाँ एउटा सानो होटल खोलेर बसेका छन्-फोन्जो तामाङ। यस्तो अनकन्टार गाउँमा आएर होटल खोल्नु कम साहसको कुरा होइन। होटलबाहिर चौंरीका बाच्छाबाच्छी चरिरहेका छन्।

लिमी उपत्यका

 

होटलभन्दा पश्चिमका अग्ला डाँडा सबै हिउँले ढाकेका छन्। बाह्रै महिना बाह्रै काल कहिल्यै हिउँ नपग्लिने बीचको चुचुरो देखाउँदै तामाङले जानकारी दिए, ‘यो तजुङ (भगवान्को घर) हो।

  

वाह! कति सुन्दर कुरा। कैलाशमा शिवजी बस्छन् भन्ने मान्यता छ। यस्ता अग्ला अग्ला हिमालमा सबैतिर देवताको बास रहेको विश्वास गरिन्छ। वास्तवमै भगवानकाे घर तल होटल परिसरबाट हेर्दा निकै सुन्दर लाग्छ।

तुम्लिङमा चरिरहेका चौंरीका बाच्छाबाच्छी।

  

तुम्लिङबाट हेलिकोप्टरमा उडेको पाँच मिनेटमै लिमी उपत्यका पुगिने रहेछ। हुम्लाको यो सबैभन्दा अन्तिम गाउँ हो। वरिपरि हिमाच्छादित पहाडले घेरिएको यो सुन्दर गाउँमा ११ औं शताब्दीको पुरानो हल्जी गुम्बा रहेको छ। सिमीकोटबाट हिँडेर जाँदा यहाँ पुग्न छ दिन लाग्छ। यो देशकै महत्वपूर्ण सम्पदा क्षेत्र हो।

संयोगले यो गुम्बामा पूजापाठ चलिरहेको रहेछ। लामागुरु पेमा रिङसार रिम्पोचे काठमाडौंको बौद्ध टुसाल गुम्बाबाट पाठ र प्रवचनका निम्ति त्यहाँ पुगेका रहेछन्। उनी एकैछिन खाली भएका बेला हामीले दर्शन गर्ने मौका पायौं। गुम्बा अवलोकन र दर्शन गर्न पाउँदा एक शताब्दीअघिको समय हाम्रा निम्ति ठक्क उभिएको आभास भयो।

हिमाली क्षेत्रको भ्रमण आफैंमा स्वर्गीय अनुभूतियुक्त हुन्छ। यस्ता दृश्य यदाकदा मात्र देख्न पाइन्छ। जहिले मौका पर्छ आँखाभरि यिनलाई हेर्नुपर्छ।

प्रकाशित: १६ असार २०८० ०३:०९ शनिबार

भगवान् काे घरआसपास घुम्दा लिमी उपत्यकाकाे बासिन्दा