यो वर्ष ताप्लेजुङमा ३७ प्रतिशत क्षेत्रमा मात्र धान रोपाँई भएको छ। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार यो गतवर्ष यहि अवधिको तुलनामा करिव ५ प्रतिशतले कम हो।
कृषि ज्ञान केन्द्र ताप्लेजुङका कृषि प्रचार अधिकृत बिनय महर्जनका अनुसार अघिल्लो वर्षको यहि अवधिमा कूल क्षेत्रफलको ४०–४२ प्रतिशत क्षेत्रफलमा रोपाँई भइसकेको थियो। उनका अनुसार ताप्लेजुङमा कूल ८ हजार ३ सय ३७ हेक्टर क्षेत्रफमा धान रोपाँई गरिन्छ। यो वर्ष बाढी र पहिरोका कारण पनि धान रोपाँईको गतिमा असर परेको उनले बताए। यहाँ पछिल्ला वर्षहरुमा उन्नत जातका धानबालीहरुतर्फ कृषकहरुको आकर्षण बढ्दै गएको देखिएको छ।
खडेरी सहन सक्ने र उत्पादन तथा उत्पादकत्व बढि हुने धानमा कृषकको आकर्षण रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ बेलगुठी, भँगेरे, अट्टे, मसिनो र बासमति सहितका रैथाने जात रहेको समेत कार्यालयले जनाएको छ। मर्हजनका अनुसार सुख्खा १, खुमल ४ जस्ता धान कृषकले रोप्न थालेका छन्। कतिपयले आफैंलाई खान पुरानो रैथाने धान पनि रोप्ने गरेका छन्। ताप्लेजुङमा साउन अन्तिम सम्मनै धान रोपाँई गर्ने गरिएको छ। अधिकाँस क्षेत्रमा आकाशे पानीको भरपर्नुपर्ने खेति अवस्थामा कारण औसतमा धेरै र थोरै वर्षाको दुबै परिणामका बेला यहाँ धान रोप्न कठिन हुन्छ।
मकैबाली लगाएको क्षेत्रमा सो बाली थन्क्याएपछि मात्र रोपाँई गर्ने गरिएको छ। यहाँका ९ स्थानीय तहका ६१ व्टा वडामध्ये उच्च हिमाली क्षेत्रका केहि वडामा भने धान रोपाँई गरिदैन। मकै सहितका अन्य बाली नलगाइएको बाँझो र सिमखेतको अधिकाँस भू–भागमा भने रोपाँई लगभग अन्त्य हुन थालेको कृषि ज्ञान केन्द्रको बुझाई रहेको छ। अन्य क्षेत्रमा बाली थन्क्याउने कार्य पूरा गरेपछि पानीको उलब्धताका आधारमा धान रोपाँईले गति पाउने केन्द्रको बिश्वास रहेको छ।
प्रकाशित: १५ असार २०८० ०८:५२ शुक्रबार