समाज

के मानव पुर्खा नरभक्षी थिए?

१६ लाख वर्ष अघिदेखि एक लाख ५० हजार वर्ष अघिसम्म पृथ्वीमा रहेको होमो इरेक्ट्स नामक प्रजातिको परिकल्पित आकृति।

वैज्ञानिकले मानव पुर्खाले एकअर्काको हत्या गरेर मासु खाने गरेको सबैभन्दा पुरानो प्रमाण भेट्टाएका छन्। १४ लाख ५० हजार वर्षअघिको मानव खुट्टाको जीवाश्ममा ढुंगाको हतियारको प्रयोगले लागेको घाउको अध्ययनले यस्तो देखाएको हो।

अध्ययन गरिएको घाउ त्यतिबेलाका अन्य जनावरका जीवाश्म हाडमा भेटिएका घाउसँग मिल्दोजुल्दो पाइएको छ। प्रसिद्ध वैज्ञानिक जर्नल नेचरको साइन्टिफिक रिपोर्टसमा सोमबार प्रकाशित अध्ययन प्रतिवेदनअनुसार घाउ हाडबाट मासु निकाल्न मिल्ने शरीरको उपयुक्त स्थानमा भेटिएकाले मासुको उद्देश्यले नरभक्षण गरिएको देखिएको हो।

‘अन्य जनावर जस्तैे मासु खाने उद्देश्यले मानव पुर्खा (होमिनिन) को संहार हुने गरेको सबैभन्दा ठुलो तार्किक निष्कर्ष अध्ययनको छ,’ अध्ययनमा सहभागी अमेरिकाका स्मिथसोनियन इन्स्टिच्युटकी मानवशास्त्री ब्राएना पोबिनेरले नेचर जर्नलको अनलाइनलाई भनेकी छिन्। उनले यो नतिजालाई ‘अपत्यारिलो तर अत्यन्त आश्चर्यजनक र अत्यधिक रोमाञ्चकारी’ भनेकी छिन्।

वैज्ञानिकले मानव पुर्खाले एकअर्काको हत्या गरेर मासु खाने गरेको सबैभन्दा पुरानो प्रमाण भेट्टाएका छन्। १४ लाख ५० हजार वर्षअघिको मानव खुट्टाको जीवाश्ममा ढुंगाको हतियारको प्रयोगले लागेको घाउको अध्ययनले यस्तो देखाएको हो।

केन्याको नैरोबीमा रहेको नेसनल म्युजियममा संग्रहित जीवाश्महरूको अध्ययनमा सहभागी पोबिनेरलगायतका वैज्ञानिकले जनावरका हाडमा टोकाइका निसानाहरूको अध्ययन गर्ने क्रममा केन्याको तुर्कना क्षेत्रबाट संकलित मानव पुर्खाको एक पिडौंलामा केही मिलिमिटर लामो घाउ देखेका थिए। अध्ययनमा संलग्न वैज्ञानिकका अनुसार त्यो घाउ कुनै जनावरले टोकेको जस्तो थिएनन्, बरु ढुंगे हतिहार प्रयोगबाट बनेको जस्तो देखियो।

मानवशास्त्री पोबिनेरले आधुनिक र प्राचीन मानव हड्डीका नौ सयभन्दा बढी समान प्रकारका घाउको डाटाबेससँग उक्त हाडको घाउको तुलनात्मक अध्ययन गरेर हेरेकी थिइन्। अनुसन्धानले ११ वटा घाउका निसानामध्ये २ वटा सिंहको टोकाइ र अन्य नौवटा ढुंगे हतियार प्रहारका कारण लागेको देखाएको थियो। यही नतिजालाई मानव पुर्खाले एकअर्काको संहार गर्ने गरेको बलियो प्रमाणका रूपमा वैज्ञानिकले लिएका छन्।

घाउको निसानासहितको पिडौंला कुन प्राचीन मानव प्रजातिको हो र कुन मानव प्रजातिले त्यस्तो गरेको भन्ने यकिन नभए पनि विभिन्न अत्याधुनिक प्रविधि र हाडको थ्री–डी मोडलमा गरिएको समीक्षाले अध्ययन नतिजा महत्वपूर्ण रहेको मानिएको छ। यसले तत्कालीन मानिसका पुर्खाको खाना संकलन गर्ने आनीबानी प्रकाश पार्न सहयोग गरेको वैज्ञानिकले ठानेका छन्।

हाडको भित्री तहमा लागेका घाउको निसाना बाहिरी सतहको रङसँग मिल्दो भएकाले यी दुईको उमेर एउटै रहेको र त्यत्तिकै फालिएका हाडलाई अन्य मानवले घिसार्दा रगडिएर देखिने दाग यो नभएको वैज्ञानिक तर्क छ। ‘यो मानव पुर्खाको टाउकोबाहेक शरीरको अन्य भागमा देखिएको अहिलेसम्मकै सबैभन्दा पुरानो प्रमाण हो’, अध्ययन प्रतिवेदनमा उल्लेख छ।

केन्याको नैरोबीमा रहेको नेसनल म्युजियममा संग्रहित जीवाश्महरूको अध्ययनमा सहभागी पोबिनेरलगायतका वैज्ञानिकले जनावरका हाडमा टोकाइका निसानाहरूको अध्ययन गर्ने क्रममा केन्याको तुर्कना क्षेत्रबाट संकलित मानव पुर्खाको एक पिडौंलामा केही मिलिमिटर लामो घाउ देखेका थिए।

यसअघि युरोप र अफ्रिकाका अन्य स्थानमासमेत नरसंहारका प्रमाणहरू भेटिएका थिए। दक्षिण अफ्रिकामा भोटिएको र १५ लाखदेखि २६ लाख वर्षअघिको मानव पुर्खाको खप्परमा देखिएको घाउलाई अर्काे एक बलियो प्रमाण मानिए पनि सो जीवाश्मको उमेर र घाउ लाग्नुको कारणमा वैज्ञानिक एकमत नहुँदा यो अध्ययन कमजोर बनेको थियो।

विभिन्न पुरातात्विक क्षेत्रहरूमा यसअघि भएका अध्ययनले धार्मिक र अन्तिम संस्कारका विधिअनुसार मानिसको हाडबाट मासु छुट्याउने गरिएको देखाएका थिए तर केन्यावरपर त्यत्ति समयअघिका संकलित जीवाश्मको अध्ययनले यसप्रकारको मानव आनीबानी देखाएका थिएनन्। धेरै मासु हुने घुँडामुनिको पछाडिको भाग अर्थात् पिँडुलामा घाउको निसानाले मासुको प्रयोजनका लागि यसो गरिएको वैज्ञानिक मत छ।

‘त्यतिबेलाको समयको पृष्ठभूमि र घाउको स्थानले यसो किन भएको हो भन्नेमा महत्वपूर्ण प्रमाण दिएका छन्’, अमेरिकाको येल विश्वविद्यालयकी अर्की मानवशास्त्री जेसिका थम्सनले नेचर अनलाइनलाई भनेकी छिन्।

‘यो अन्वेषणले धेरैअघिको दुखद यथार्थलाई प्रतिनिधित्व गर्छ। ढुंगे हतियार प्रयोग गरेर एक मानव पुर्खाले अर्काेलाई हत्या गर्नु र खानु त्यतिबेलाको जीवनको अभिन्न अंगजस्तो देखिएको छ’, उनले भनेकी छिन्।

सिकागो विश्वविद्यालयका अर्का मानवशास्त्री जेरेसेने अलेमसेगेड उक्त अध्ययन एक जीवाश्मको नमुनामा आधारित रहेको हुँदा नतिजालाई सावधानीपूर्वक हेनुपर्ने तर्क गर्छन्। नयाँ र पुराना जीवाश्महरूको थप अध्ययनले यसप्रकारको मानव आनीबानी थियो वा थिएन भन्ने विषयलाई प्रष्ट पार्ने उनको तर्क छ। ‘प्रमाणहरू छरिएका छन् र ती प्रमाणलाई हामीले जोड्नुपर्छ। हामी पुरातन मानवको मस्तिष्कभित्र जान चाहेका छौं र यो जटिल विषय हो’, अलेमसेगेडलाई उद्धृत गर्दै नेचर अनलाइनमा लेखिएको छ। 

प्रकाशित: १५ असार २०८० ०१:३२ शुक्रबार

मानव पुर्खा केन्याको नैरोबीमा रहेको नेसनल म्युजियम