समाज

ताप्लेजुङमा सबैभन्दा बढी बलात्कारका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ताप्लेजुङले जलविद्युत योजना सञ्चालनका कारण कृषि उपज उत्पादनमा हुने जोखिमबारे आएका गुनासोको वृस्तृत अध्ययनको खाँचो औंल्याएको छ।

नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा कार्यक्रममा बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले यस्तो बताएका हुन्।

प्रतिवेदनमा उनले जलविद्युत आयोजनाका कारण खोलाको सतह र धार परिवर्तनले जग्गा गुमाउँदा कृषि उपज उत्पादनबाट वञ्चित हुने गरेको स्थानीयको गुनासोबारे वृस्तृत अध्ययन हुनु अनिवार्य रहेको बताएका छन्। उनले तमोर नदी र हान्द्रुङ क्षेत्रमा रहेका भेनियरका कच्चा सामाग्रीले वातावरण प्रदुषण गरी स्वच्छ वातावरणमा जिउने अधिकारबाट सर्वसाधारण वञ्चित हुनु परेको बिषय समेत उठाएका छन्।

‘स्थानीयको यस्ता गुनासोको उचित सम्बोधन हुनु अनिवार्य छ’ गुरुङले भने। उनले सुकुम्बासी र भूमिहिन नागरिकलाई जग्गा वितरण गर्ने प्रकृयाका बारेमा समेत चासो राखेका छन्। विद्यालयमा वितरण हुने सेनेटरी प्याडको गुणस्तरीयता सुधारमा समेत उनले जोड दिएका छन्। विभिन्न विद्यालयमा पुग्दा सेनीटरी प्याड गुणस्तरीय नरहेको गुनासो आएकोले यसमा गुणस्तरीयता सुधार अनिवार्य रहेको उनको भनाइ छ। महिला माथि हुने शारिरीक, मानसिक, यौनजन्य, सामाजिक, प्रथा तथा परम्परागत, सांस्कृतिक र राजनीतिक हिंसाको अवस्था सन्तोषजनक नभएको उनको ठहर छ। उनले यस्ता हिंसा नियन्त्रण गर्न कठोर कानुन मात्र पर्याप्त हुने नभई सचेतना अभिबृद्धि अनिवार्य सर्तको रुपमा रहने बताएका छन्। 

६ महिनाको अवधिमा १२ वटा घटना अभिलेखमा,सबैभन्दा बढी बलत्कारका

इन्सेकको अभिलेख अनुसार गत मध्य पुसदेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघनसंग सम्बन्धित १२ वटा घटना भएका छन्। त्यसमध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा, घरेलु हिंसाका ४ वटा, हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ। सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभिलेखमा २० वटा घटना समावेश थिए। जसमा आधा भन्दा बढी बलात्कारकै रहेका थिए। इन्सेक जिल्ला प्रतिनिधि गुरुङका अनुसार उतिबेला अभिलेखीकरण भएका मध्ये ११ वटा बलात्कारका,२ वटा बाल यौन दुव्र्यवहारका, बलात्कार तथा मानव बेचबिखनसंग सम्वन्धित,स्वास्थ्यकर्मी माथि हातपात र कुटपिटसंग सम्बन्धित र जेष्ठ नागरिक कुटपिटसंग सम्बन्धित र बहुविवाहसंग सम्बन्धित एक–एकवटा घटना भएका थिए। हत्यासंग सम्बन्धित ३ वटा घटनाको अभिलेख इन्सेकसंग रहेको छ।  

चल्यो अधिकार केन्द्रित सवाल–जवाफ

मानव अधिकार वर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा कार्यक्रममा अधिकार केन्द्रित सवाल जवाफ समेत चलेको छ। जवाफदेहि पक्षको रुपमा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, डिभिजन वन प्रमुख बद्रीप्रसाद शाह, प्रहरी निरीक्षक कुशराम कार्की, भूमी आयोगका जिल्ला अध्यक्ष कृष्णकुमार बस्नेत सहितले आफ्नो निकायसंग सम्बन्धित बिषयमा उठेका सवालको सहजीकरण गरेका थिए।  

प्रकाशित: १४ असार २०८० १२:०० बिहीबार

बलत्कार