तेह्रथुम- तेह्रथुम जिल्लाका किसानका लागि आएको रासायनिक मल भोजपुरमा ब्रिकी भएको खुलासमा भएकोछ। जिल्ला प्रशासन कार्यालय भोजपुरले तेह्रथुमका लागि आएको मल भोजपुरमा नियन्त्रण गरेपछि तेह्रथुमका किसानका लागि आएको मल भोजुरमा ब्रिकी भएको खुलासा भएको हो।
सदरमुकाम नजिकै रहेको तम्फुला बचत तथा ऋण सहकारी सस्थाका लेखा संयोजक दिल कुमार न्यौपानेले किर्ते कागजात बनाई तेह्रथुम जिल्लाका किसानहरुका नाममा आएको ५ सय बोरा मध्ये ३ सय बोरा रासायनिक मल भोजपुर जिल्ला अरुणगाउँपालिका ५ बस्ने गजेन्द्र राईलाई बिक्री गरेका थिए।
तेह्रथुमका लागि अनुदानमा बितरण गरिएको रासायनिक मल भोजपुरमा बिक्री हुँदै गरेको सूचना पाए पछि जिल्ला प्रहरी कार्यालय भोजपुरले २ सय बोरा रासायनिक मल समेत जफत गरेको छ। अनुदानमा आएको रासायनिक मल केहि ब्यक्तिले बिक्री गरेको प्रमाण फेला परे पछि रासायनिक मल ब्रिकी भएको खुलासा भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। प्रमुख जिल्ला अधिकारी तामाङलाई समेत जानकारी नभएको रासयनिक मल खरिद प्रकरणका बारेमा जिल्ला प्रशासन भोजपुरले चासो राखेको थियो।
किसानको नाममा आएको अनुदानको मल भोजपुरमा ब्रिकी भएकोबारे थप खोजी गर्दा तम्फुला बचत तथा ऋण सहकारी सस्थाका लेखा संयोजक न्यौपानेले किर्ते कागजात बनाई जिल्ला कृषि विकास कार्यालयको सिफारीसमा रासायनिक मल खरिद गरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। उनका अनुसार साल्ट ट्रेडिङ कपोरेसन लिमिटेड बिराटनगरबाट १५ मेट्रिक टन(३ सय बोरा) युरिया र २ सय बोरा डि.ए.पी. मल जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा तम्फुला बचत तथा ऋण सहकारी संस्थाले अनुदानमा प्राप्त गरेको थियो। श्रोतका अनुसार तम्फुला बचत तथा ऋण सहकारी संस्थाले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बिराटनगरबाट बैशाख २० गते र बैशाख २२ गते गरि दुई पटकमा ५ सय बोरा मल ल्याएको छ।
प्रकाशित: २९ वैशाख २०७४ ०९:३३ शुक्रबार