समाज

भारतीय अपराधी बब्लु मारिए

काठमाडौं- वीरगन्जका व्यापारी सुरेश केडियाको अपहरणका मुख्य योजनाकार भारतीय अपराधी बब्लु दुबे अदालत परिसरमै मारिएका छन्। केडिया गत वर्ष अपहरणमा परेका थिए। सो घटनाको मुख्य योजनाकार बब्लु रहेको खुलेको थियो। उनी बिहीबार भारत विहारको बेतिया कोर्ट परिसरमा मारिएका छन्।

वीरगन्जका व्यापारी सुरेश केडिया अपहरणका योजनाकार बब्लुलाई दुइटा बाइकमा आएका हतियारधारी समूहले बेतिया कोर्ट परिसरमा गोली हानेर मारेका हुन्।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार दुइटा बाइकमा आएका हतियारधारी समूहले उनलाई बेतिया कोर्ट परिसरमै गोली हानेर मारेका हुन्। उनलाई पाँच राउन्ड गोली लागेको र घटनास्थलमै मृत्यु भएको थियो।

नेपालमा लुकेर बसेका उनी चार वर्ष अगाडि काठमाडौंको सीतापाइलामा पक्राउ परेका थिए। त्यसपछि उनलाई भारतीय प्रहरीलाई बुझाइएको थियो। उनले भारतीय कारागारबाटै समूह परिचालन गरेर केडियालाई अपहरण गरी भारत पुर्‍याएका थिए। २०७३ जेठमा अपहरणका परेका केडियालाई नेपाल र भारत प्रहरीको संयुक्त प्रयासमा भारतमै अपहरणमुक्त गरेर नेपाल ल्याइएको थियो।

अनुसन्धानमा चञ्चला पाण्डे, वीरेन्द्र यादव, जियालाल यादवलगायत पाँचजना पक्राउ परेपछि बब्लुको योजनामा चञ्चलाले केडियाको अपहरण गरेर भारत पुर्‍याई बन्धक बनाएको खुलेको थियो। बब्लु भारतीय जेलमा रहेकाले उनी अनुसन्धानको दायरामा आएनन्।

उनी भारतीय सुरक्षा अधिकारीको मोस्ट वान्डेट सूचीमा थिए। उनी नेपालमा लुकेर बसेको भारतीय सुरक्षा अधिकारीको सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय नारायणीको प्रहरी टोली काठमाडौं आएर २०७० जेठ १५ मा काठमाडौंको सीतापाइलास्थित एक अर्पाटमेन्टबाट पक्राउ गरेको थियो।

भारतीय कुख्यात अपराधी सन्तोष झाका मुख्य सहयोगी बब्लुमाथि भारतमा हत्या, अपहरण र रकम असुलीका ३६ घटना दर्ता थिए। भारतीय प्रहरीले खोजी सुरु गरेपछि उनी नेपाल आएर बसेका थिए।

नेपालमा रहँदा वीरगन्जका व्यापारीलाई फोनमार्फत धम्क्याएर रकम माग्ने गरेको दाबी गरिए पनि पक्राउलगत्तै उनलाई भारत पुर्‍याइएको थियो। प्रहरीले उनीविरुद्ध नेपालमा आपराधिक घटना दर्ता नभएको भन्दै सार्वजनिक अपराधमा केही दिन बारा प्रहरीको हिरासतमा राखेर भारतीय प्रहरीलाई बुझाएको थियो।

 हिन्दुस्तान टाइम्सका अनुसार उनीविरुद्ध विहारमा ७० आपराधिक मुद्दा दर्ता थिए। नेपालले बुझाएपछि बिहार प्रहरीले उनीविरुद्ध जवाहर साहको हत्याबारे अदातलमा मुद्दा दायर गरी सुनुवाइ चलाएको थियो। सोही मुद्दाको सुनुवाइका लागि बिहीबार उनलाई सुरक्षा घेरामा अदालत लगिएको थियो।

अदालत परिसरमा गोली लागेर ढलेपछि उपचारका लागि उनलाई महारानी जानकी कुँवर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको हत्यामा प्रतिस्पर्धी समूह संलग्न रहेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रकाशित: २९ वैशाख २०७४ ०३:०४ शुक्रबार

भारतीय अपराधी बब्लु मारिए