समाज

शीर्ष नेता धान दिवस मनाउन चितवन आउने

फाईल तस्बिर

धान दिवस मनाउन शीर्ष नेताहरु चितवन आउने भएका छन्। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरु धान दिवस मनाउन चितवन आउने भएका हुन्। 

पूर्व प्रधानमन्त्री समेत रहेका ओली बिहीबार साँझ  चितवन आउनेछन्। बिहीबार साँझ नै भरतपुरमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरिएको छ। धान दिवसको दिन असार १५ गते शुक्रवार बिहान साढे सात बजे गेस्ट हाउस चौरमा नागरिकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए। त्यो सम्बोधन सकेर साढे ९ बजे ओली भरतपुर २४ स्थित केरुङ्गा सामूहिक तरकारी कृषि फार्ममा धान रोपाइँमा सहभागी हुनेछन्। त्यस्तै दिउँसो १ बजे रामपुर कृषि क्याम्पसमा युवा, विद्यार्थी र किसान उद्यमीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको ढुंगानाले जानकारी दिए। प्रधानमन्त्री ओलीले मेसिनबाट धान रोप्नेछन्। 

त्यसैगरी पुर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले पनि यसपटक चितवनमा नै धान दिवस मनाउने तयारी गरेका छन्। नेपाल समाजवादी किसान महासंघका महासचिव लेखनाथ भुसालका अनुसार भट्टराई असार १५ गते दिनभर नै किसानसँग रोपाइँमा व्यस्त हुनेछन्। उनी भरतपुर २० मा स्थित भिमनगरमा युवा आधुनिक सामूहिक कृषकहरूले गर्न लागेको रोपाइँमा आउन लागेका हुन्। ‘पार्टी अध्यक्ष भाषण गर्न आउनु हुने होइन। उहाँ बाउसे बन्न आउनु हुने हो,’उनले भने ‘दिउँसो १२ बजेदेखि पाँच बजेसम्म किसानसँग नै हुनुहुन्छ।’ त्यहाँ एक बिघामा धान रोप्ने तयारी गरिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने पनि चितवन आउँदैछन्। यसपटक रोपाइँ गर्न नै चितवन आउन लागेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए। ‘हामीले यसपटक धान दिवस चितवनमा मनाउँछौँ। त्यसका लागि बिहीबार नै चितवन आउने तयारी छ,’ उनले भने ‘जगतपुर र उज्वलनगरमा रोपाइँ गर्दछौँ।’

नेपाली कांग्रेसले पनि चितवनमा शीर्ष नेता ल्याउने तयारी गरेको छ। ‘यसपटक धान दिवसलाई विशेष बनाउन खोजेका छौँ। पार्टीका पदाधिकारी स्तरका नेता ल्याउने तयारी गरेका छौँ,’ पार्टीका जिल्ला सचिव धुर्व पोख्रेलले भने ‘उहाँहरु आउनुभएन भने चितवनमा रहनुभएका केन्द्रीय सदस्हरुको उपस्थितिमा धानदिवस मनाउँछौँ।’ 

शीर्ष नेताहरु धान दिवस मनाउन चितवन आउन लागेको पहिलो पटक हो। चितवनमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, पालिका तथा विभिन्न संघ संस्थाले धान दिवस मनाउँदै आएका छन्। यसपटक भरतपुर महानगरपालिकाले भरतपुर ९, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खैरहनीको कठारमा धान दिवस मनाउन लागेको कार्यालय प्रमुख धनबहादुर थापाले जानकारी दिए।  

चितवनमा यसपटक खडेरीका कारण रोपाइँ ढिलो भएको छ।  कृषि ज्ञान केन्द्र चितवनका निमित्त प्रमुख मिन बहादुर पूनका अनुसार १० प्रतिशत मात्र धान रोपाइँ भएको छ। जिल्लामा ३३ हजार ८३६ हेक्टर खेती योग्य जमिन छ। जसमध्ये १९ हजार ८९३ हेक्टरमा बर्षे धान र सात हजार ५२७ हेक्टरमा चैते धान लगाउने गरिन्छ। 

प्रकाशित: १३ असार २०८० १२:५२ बुधबार