समाज

भोट कसरी हाल्ने? मतदातालाई थाहै छैन

मन्जु उप्रेती

रामेछाप- स्थानीय तह निर्वाचनका लागि मत खसाल्ने दिन आउनै लाग्दा पनि जिल्लाका अधिकांश मतदातामा मत खसाल्ने प्रक्रिया बारे अन्यौल रहेको छ। मतदाता शिक्षा कार्यक्रमले मतदातालाई समेट्न नसक्दा धेरैलाई अन्यौल रहेको हो। निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सबै क्षेत्रमा नपुग्दा हालसम्म धेरैले मतदान बारे सही जानकारी पाएका छैनन्। यसले गर्दा निर्वाचनका बेला धेरै मत बदर हुने सम्भावना रहेको छ।

मतदाता शिक्षा कार्यक्रमले मतदातालाई समेट्न नसक्दा धेरैलाई अन्यौल रहेको हो। निर्वाचन लक्षित मतदाता शिक्षा कार्यक्रम सबै क्षेत्रमा नपुग्दा हालसम्म धेरैले मतदान बारे सही जानकारी पाएका छैनन्।

निर्वाचन कार्यालय रामेछापले चुनाव लक्षित मतदाता शिक्षा कार्यक्रममा लागि जनशक्ति परिचालन गरेको भएपनि उनीहरुले मतदान प्रक्रिया बारे बुझाउन नसकेको सर्वसाधारणहरु बताउँछन।

मतदाता शिक्षा प्रभावकारी र पर्याप्त नभएको लिखु गाउँपालिका–६ का जीवनप्रसाद दाहालले बताए। उनले निर्वाचनले परिचालन गरेको कर्मचारी टोलमा पुगेपनि २/४ जना भेला पारेर मतदाता शिक्षा कार्यक्रम चलाएको बताए।

कर्मचारीबाट सही रुपमा मतदान गर्ने तरिका सिक्न नसकिएको उनको धारणा छ। अलमलको अवस्थामा मतदानमा भाग लिदा अधिकांशको मत बदर हुने उनी बताउँछन्।

जिल्ल्ाा निर्वाचन कार्यलयले निर्वाचन शिक्षा कार्यकर्ता  तथा सामाजिक परिचालकका रुपमा काम गर्दै आएका ४९ जना, पूर्व प्राथमिक शिक्षिका ९५ जना र सामुदायीक महिला स्वास्थ्य स्वयंसेविका २६ जना गरी कुल १ सय ७० जनालाई मतदाता शिक्षाका लागि परिचालन गरेको छ।

उनीहरुले गाउँ–गाउँमा पुगेर बदर मत न्यून गर्न मतदान गर्ने विधिका बारेमा सिकाउने, मतदानमा जान प्रेरित गर्ने, निर्वाचन आचारसंहिता बारे जानकारी गराउने र 'हाम्रो हैन राम्रो उम्मेदवार छान्नुस्' भनेर सर्वसाधारणलाई सचेत गराउने काम गर्ने जिल्ला निर्वाचन कार्यलय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्यायले बताए।

उनले मतदाता शिक्षा कार्यक्रमले धेरैमा चेतना फैलिएको दाबी गरेतापनि धेरैलाई अझै अन्यौल नै रहेको छ। लिखु गाउँपालिका–६ की यमकुमारी श्रेष्ठ अझै पनि आफूलाई भोट कसरी हाल्ने भन्ने थाहा नभएको बताउँछिन्।

प्रकाशित: २८ वैशाख २०७४ ०६:३३ बिहीबार

भोट कसरी हाल्ने मतदातालाई थाहै छैन